राजनीति

सबैलाई समेट्नुस् : पौडेल

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललेे पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। प्रमुख भ्रातृसंगठनको महाधिवेशनसँगै दुई नेताबीच दुरी बढ्दै गएका बेला पौडेलले बिहीबार एकपक्षीय ढंगले अघि नबढ्न देउवालाई सम्झाएका हुन्।

नेपाल महिला संघको महाधिवेशनपछि देउवालाई भेट्न उनकै निवास पुगेका पौडेलले पदाधिकारीका साथै पार्टीका अन्य निकायलाई तत्काल पूर्णता दिन पनि आग्रह गरेका छन्। 'विपक्षीसँग लड्नुपर्ने बेला आएको छ,' पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'पार्टी मिलाएर लैजाने दायित्व सभापतिको हो। सबैलाई समेटेर अघि बढ्नुस्।'

पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग मिलेर सभापति देउवाले भ्रातृसंगठनको महाधिवेशनमा पछाडि पारेपछि पौडेल रुष्ट छन्। पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल महिला संघको महाधिवेशनमा पौडेल प्यानलै पराजित भएपछि असन्तुष्टि जनाउँदै पौडेल बुधबार महिला संघको पद हस्तान्तरण कार्यक्रममा समेत सहभागी भएनन्।

१३ औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएपछि संसदीय दलका साथै नेपाल विद्यार्थी संघ र महिला संघको महाधिवेशनमा पौडेल पक्ष थप कमजोर देखिएको छ। देउवा पक्ष पार्टी र भ्रातृ संगठनमा हावी हुँदै गएको छ।

राजनीतिक नियुक्ति र पार्टीका तर्फबाट सरकारमा सहभागी हुने थप राज्यमन्त्रीमा सम्मानजनक सहभागिताका लागि पौडेलले आग्रह गरेका छन्। सभापति देउवा केही दिनभित्र पार्टीका आधा दर्जन बढी नेतालाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउने आन्तरिक गृहकार्यमा जुटेका छन्।

जवाफमा सभापति देउवाले पार्टीका सबै पक्षलाई समेटेर अघि बढ्ने आश्वासन पौडेललाई दिएका छन्। पार्टी पदाधिकारी, विभाग र अन्य निकायलाई पूर्णता दिनेसहित अन्य विषयमा आन्तरिक तयारी गरेर सहमतिबाटै टुंगोमा पुग्ने उनले बताएका थिए।

‘सिद्धान्त जोगाउन संघर्ष'

यसैबीच नेता पौडेलले पार्टीको मौलिक संस्कृति र सिद्धान्त जोगाउन संघर्ष गर्नुपर्ने समय आएको बताएका छन्। पत्रकार हरिहर विरहीद्वारा लिखित 'आगो निभेको छैन' पुस्तक विमोचन कार्यक्रममा बिहीबार सहभागी हुँदै पौडेलले कांग्रेसको मौलिक संस्कृतिमाथि प्रहार भइरहेको जनाएका हुन्।

कांग्रेसको मौलिक संस्कृतिमाथि प्रहार गरेर पार्टीलाई कता लैजान लागेको हो भन्ने प्रश्न गर्दै उनले भने, 'बिपी कोइरालाले भन्नु भएजस्तै पार्टीको मौलिक संस्कृति र सिद्धान्त जोगाउन कार्यकर्ता जुर्मुराउनुपर्ने समय आएको छ।'

सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजान नसकेको आरोप लगाउँदै उनले भने, 'तपाईं (शेरबहादुर देउवा) सिंगो पार्टीको सभापति बन्नुभयो, अब सानो र सीमित घेराको होइन, सबैको नेता बन्नुस्।'

पार्टीलाई प्रभावकारी बनाउन सभापतिलाई सहयोग गर्न आफू सधैं तयार रहेको जनाउँदै पौडेलले भने, 'सानो र सीमित घेरा छाडेर सभापतिले सिंगो कांग्रेसको नेता बन्ने बीचमा बार्गेनिङ गरेर खाने बिचौलिया समाप्त हुन्छन्।'

सानो घेरा जोगाउन खोज्दा पार्टीमा गुट–उपगुट हावी भएको जनाउँदै पौडेलले पार्टीभित्र र बाहिर केही घुमाउरा खेलले लोकतन्त्र र राष्ट्रियतासमेत संकटमा पर्न थालेको बताए। बिचौलिया बन्ने र घुमाउरो खेल खेल्नेहरूबाट पार्टीलाई मुक्त गर्ने अभियान थालनी गर्ने पनि उनले जनाए।

कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले राजनीतिमा नेताहरू भन्दा जनता अगाडि बढेको जनाउँदै विचार र अग्रगमनको पक्षमा उभिनेले मात्र मुलुकको नेतृत्व लिनसक्ने बताए। 'जनताले चाहे राजनीतिक अघि बढ्छ,' सिटौलाले भने, 'यथास्थितिमा अब कसैले मुलुकको नेतृत्व दिन सक्दैन।'

पूर्व महामन्त्रीसमेत रहेका सरकारका उपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकमा लामो संघर्षपछि आएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक सहभागिताजस्ता परिवर्तनलाई संस्थागत गर्नुपर्ने जनाए। संविधान कार्यान्वयनले मात्र प्राप्त उपलब्धि जनताको मनसम्म पुर्‍याउन सकिने उनको तर्क छ। 

प्रजातान्त्रिक आन्दोलनका अग्रणी बोधप्रसाद उपाध्याय र सहिद केशव कोइरालाकी धर्मपत्नी विद्या उपाध्याय घिमिरे र गुणकुमारी कोइरालाले विमोचन गरेको पुस्तकमाथि कांग्रेस नेता प्रदीप गिरी र पत्रकार विजयकुमार पाण्डेले टिप्पणी गरेका थिए। पत्रकार विरहीले प्रजातान्त्रिक आन्दोलनक्रममा देखे–भोगेका विषयलाई पुस्तकमा समेटेका छन्।

प्रकाशित: ७ आश्विन २०७३ ०२:०८ शुक्रबार

सबैलाई समेट्नुस् पौडेल