राजनीति

राष्ट्रिय सहमति अहिलेको आवश्यकता: राज्यमन्त्री श्रीपाली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले अहिले मुलुकको हितका लागी राष्ट्रिय सहमति आवश्यक रहेको बताएकी छिन्। स्थायित्व र दीर्घकालीन सरकारका लागी राष्ट्रिय सहमति आजको आवश्यकता रहेको उनले बताइन्।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रीपालीले मुलुकलाई संकटोन्मुख अवस्थाबाट जोगाउन सबै दलबिच मेलमिलाप आवश्यक रहेकाले राष्ट्रिय सहमतिबाटै अगाडी बढ्ने बताइन्। जनताले चाहेको स्थायित्व, समृद्धि र विकासको सपना टुट्न नदिन पनि राष्ट्रिय सहमतिबाट अँघी बढ्नु पर्ने बताइन्। 

नेकपा माओवादी केन्द्रकी नेता समेत रहेकी मन्त्री श्रीपालीले समग्र राष्ट्रको विकासमा सबै पक्ष एक हुन आवश्यक रहेको बताइन्। उनले राजनैतिक दल, सरोकारवाला पक्ष लगायत सम्बन्धित सबैले हातेमालो गरेर ढृणता पूर्वक विकासमा लाग्नुपर्ने बताइन्। जनताले तीव्र विकास खोजेकाले सबै मिलेर त्यस तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ। 

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएकी श्रीपालीले जिल्लामा निर्माणाधीन अर्घा भगवती विमानस्थलले पूर्णता पाउने प्रतिबद्धता व्यक्त गरिन्। सुपा देउराली मन्दिर लगायत सूचीकृत नभएका पर्यटकीय स्थलहरूलाई सूचीकृत गरेर उत्पादन सँग जोड्ने कुराको गुरुयोजना बनाएर अँघी बढ्ने उनको भनाई छ।

नेपाल पत्रकार महासंघले श्रीपालीलाई गृह जिल्लामा स्वागत गर्दै मन्त्री भएकोमा सम्मान गरेको थियो। सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज ठाकुर कुमार विक, केन्द्रीय वैकल्पिक सदस्य छमकुमारी खनाल (चिनारी), माओवादी केन्द्र जिल्ला संयोजक राजेन्द्र भुसाल, पत्रकार महासंघका निवर्तमान जिल्ला अध्यक्ष हिम लेकाली, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायत पत्रकारहरुको उपस्थिति थियो। 

प्रकाशित: २८ माघ २०७९ १४:४३ शनिबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली