सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी रहेकाे बताएकी छिन्।
उनले आगामी वर्षको बजेटमा जनतालाई परिवर्तनको अनुभूति हुनेगरी विशेष प्राथमिकताका कार्यक्रम समावेश गर्नेगरी काम भइरहेको जानकारी दिइन्।
दाङको भालुवाङ्गमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारका प्रवक्ता शर्माले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनेतर्फ सरकारले ध्यान दिएको समेत बताइन्। वर्तमान सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गर्ने विषयमा पनि छलफल अघि बढेको मन्त्री शर्माले जानकारी दिइन्।
मन्त्री शर्माले सूचना प्रविधिसँग जोडिएका नयाँ ऐन निर्माण र कार्यान्वयनमा सरकारले ध्यान दिइएको जिकिर गरिन्। उनले पुराना ऐन कानुनबाट चल्नुपर्ने बाध्यता रहेकाले त्यस्ता ऐन तथा कानुन विस्थापन र नयाँ ऐन कानुन निर्माण गरेर अघि बढ्ने जिम्मेवारी रहेको बताइन्।
प्रकाशित: २८ माघ २०७९ १३:४८ शनिबार