राजनीति

खेलकुद विकासका लागि स्थानीय सरकारकाे पहल आवश्यक: महामन्त्री थापा

फाइल तस्बिर।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले खेलकुदको विकासका लागि स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

शनिवार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव–२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग र साथ दिएमा खेलकुदको विकास हुन समय नलाग्ने बताए।

नेपालमा खेलकुदमा पनि जीवन छ भनेर भन्न लायक बनाउनुपर्ने उनको भनाइ छ। उनले स्थानीय सरकारले आफूले खेलकुदको विकासका लागि ५ वर्षमा गर्नसक्ने योजना बनाएर नै खेलको विकास गर्न जरुरी रहेको जिकिर गरे। उनका अनुसार राजनीति पेशा नभइ सेवा भएबाले कसैलाई पनि मानवता ठूलो लाग्ने व्यक्तिले राजनीति गर्नु सबैभन्दा उचित हुनेछ। 

महामन्त्री थापाले आफ्ने खेलाडी बन्ने सपना रहेको सुनाउँदै दशरथ रंगशालामा गोल हानेपछि पहिलो पटक पत्रिकामा आफ्नो नाम छापिएको स्मरण गरे। उनले खेलकुदको माध्यमबाट स्व.कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुको बारेमा नयाँ पुस्तालाई बताउन जरुरी रहेको बताए।

प्रकाशित: २८ माघ २०७९ १३:१७ शनिबार