राजनीति

अख्तियारको पत्रबारे सत्तारुढ बेखबर

काठमाडौं–तत्कालीन माओवादी लडाकु शिविरको आर्थिक अनियमितताबारे छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्राचार गर्ने तयारी गरिरहेको सूचनाले मंगलबार नेपाली राजनीति गरमागरम हुँदै गर्दा सत्तारुढ दल भने ‘बेखबर’ छन् । सत्तारुढ दलका नेताले भने अख्तियार तयारीबारे कुनै जानकारी नभएको बताए । लडाकुका नाममा निकासा भएको रकम नेता र पार्टीले दुरूपयोग गरेको तथा तल्लो तहबाट रकम रोक्न माग गर्दा पनि निकासा दिने क्रम नरोकिएको भन्दै विगतदेखि नै भ्रष्टाचार आरोप लाग्दै आएको छ ।

अख्तियारस्रोतका अनुसार लडाकु शिविरको रकम भ्रष्टाचारमा धेरैजसो माओवादी नेताको सहभागिता देखिएको छ । माओवादी प्रवक्ता पम्झा भुसालले भने यसबारे आफूलाई कुनै जानकारी नभएको र अख्तियारबाट समेत कुनै सोधखोज नभएको बताइन् ।
अर्को सत्तारुढ दल कांग्रेस नेता तथा रक्षामन्त्री बालकृष्ण खाँणले अख्तियारले सत्तारुढ दल माओवादी र कांग्रेस नेता लक्षित गरी पत्राचार गरेको बारे कुनै जानकारी नभएको बताए ।

सत्तारुढ दलका कतिपय नेता भने अख्तियारले अपर्भmट लडाकु शिविरको प्रसंग ल्याउनु दललाई प्रतिशोध साध्न खोजेजस्तो भएको बताएका छन् । माओवादी नेता मणि थापाले अख्तियारले लडाकु शिविरको प्रसंग झिकेर दललाई तर्साउन खोजेको बताए ।
‘अख्तियारले अहिले आएर किन लडाकु शिविरको भ्रष्टाचारबारे बोल्यो भन्ने सवालमा भने पक्कै पनि राजनीतिक अर्थ छ,’ उनले भने ।

दाहालको भारत भ्रमणबारे पार्टीभित्रै विवाद

प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ ३० देखि असोज २ गतेसम्म गरेको भारत भ्रमणले नेकपा माओवादी केन्द्रभित्र विवाद निम्त्याएको छ । दाहालले भारत भ्रमण निकै उपलब्धिमूलक भएको बताइरहेका बेला माओवादीका उच्च नेताले उक्त भ्रमणको कुनै अर्थ नभएको बताएका हुन् ।
भारत भ्रमणबारे पार्टी पंक्तिलाई जानकारी दिन मंगलबार दाहाल निवासमा बसेको सचिवालय बैठकमा नेताहरूले प्रधानमन्त्रीको पटकपटक प्रतिवाद गरे । ‘प्रधानमन्त्रीले भारत भ्रमण निकै उपलब्धिमूलक भएको मात्र बताएनन् आफ्नो भ्रमणपछि भारत बदलिएको बताउँदा निकै रिस उठ्यो,’ उक्त बैठकमा सहभागी एक नेताले नागरिकसँग भने, ‘त्यसपछि केही साथीले नेपाललाई भारतले हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नभएको बताएका थिए ।’

ती नेताका अनुसार दाहालले जतिसुकै गफ हाँके पनि भारतको नेपालप्रतिको सोचमा कुनै परिवर्तन भएको छैन । भारतले अझै पनि नेपाललाई उपयोगवादी व्यवहार गरिरहेको माओवादी नेताको भनाइ छ । भारतमा भेटका क्रममा एक÷दुई नेताले मीठा कुरा गरेकै भरमा दाहाललाई भारत बदलिएको नभन्न माओवादी नेताहरूले सल्लाहसमेत दिएको स्रोतको भनाइ  छ ।

दाहाल यतिखेर कुनै एउटा दलविशेषको नेता नभई प्रधानमन्त्री रहेकाले देशका लागि दीर्घकालीन प्रभाव पार्ने विषयमा परिपक्व निर्णय गर्न र सोहीअनुसारको खबर सार्वजनिक गर्नुपर्ने भन्दै कतिपय नेताले दाहालको अभिव्यक्तिप्रति आक्रोश पोखेका थिए । दाहालले भने बैठकमा पटकपटक भारत बदलिएको बताएका थिए ।

माओवादी प्रवक्ता पम्फा भुसालले भने हेडक्वार्टर बैठकले प्रधानमन्त्रीको भारत भ्रमण निकै सकारात्मक भएको निष्कर्ष निकालको दाबी गरिन् । ‘दुई देशको सम्बन्ध सुधार गर्न, पुराना परियोजना कार्यान्वयन, भूकम्पपीडितलाई सहयोग तथा विद्युत विस्तारमा सहयोग पु¥याउन भारत सहमत हुनुले प्रधानमन्त्रीको भ्रमण सफल रहेको पुष्टि हुन्छ,’ भुसालले भनिन् ।

 

प्रकाशित: ५ आश्विन २०७३ ०१:१५ बुधबार

अख्तियारको पत्रबारे सत्तारुढ बेखबर