राजनीति

मोर्चा र सरकारबीचको ३ बुँदे सम्झौता कार्यान्वयनमा शंकाः अध्यक्ष यादव

सोलुखुम्बु– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया शुरु नगर्नुले सरकार र मोर्चाबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयनमा शंका उत्पन्न भएको बताएका छन्।

संघीय गठबन्धनका संयोजकसमेत रहेका अध्यक्ष यादवले संशोधनको काम ढिला भए पनि आशा बाँकी नै रहेको बताएका हुन्। रिपोर्टस क्लब सोलुखुम्बुले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। शेर्पा प्रदेशको प्रशिक्षणका लागि जिल्ला आएका यादवले संविधानलाई प्वालैप्वाल भएको च्यादरको संज्ञा दिँदै दलहरु प्वाल टाल्न सहमत नभए आन्दोलन चर्काउने चेतावनीसमेत दिए।

प्रचण्ड सरकारले संघीय गठबन्धनका माग संविधान संशोधनको माध्यमबाट पूरा गर्ने प्रतिवद्धता जनाएकाले सरकार बाहिरै बसेर पनि समर्थन जनाएको अध्यक्ष यादवको भनाइ थियो। उनले संशोधनका लागि एमाले सहमत नभएको बेला अतिबादी सोच भएका नेताहरुको कारण देश द्वन्द्वमा जान सक्ने सम्भावनालाई औँल्याए।

संविधान संशोधनको मुख्य एजेण्डा संघीयता भित्र पहिचान, प्रादेशिक स्वायत्त र सुशासन, राज्य पुर्नसंरचना, स्रोत साधन तथा शक्तिको बाँडफाँड नै रहने यादवको भनाइ छ।

प्रकाशित: ४ आश्विन २०७३ ०८:०३ मंगलबार

मोर्चा सरकारबीचको बुँदे सम्झौता कार्यान्वयनमा शंकाः अध्यक्ष यादव