राजनीति

प्रदेश १ को नाम विराट प्रदेश राख्न माग

राजवंशी समाज उत्थान समितिले प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गरेको छ। राजवंशी समाज उत्थान समितिले बिहीबार विराटनगरमा आयोजना गर्न लागेको १६ औं बृहत् भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गरेको हो। 

समाजका सभापति भुवनेश्वर मण्डलले झापा मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी समुदायले वार्षौंदेखि यस प्रदेशको नाम विराट प्रदेश राख्न माग गर्दै आएको र अबको प्रदेशसभाले नामकरण टुंगो लगाउँदा  प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गरे। 

 प्रदेश १ का अल्पसंख्यम राजवंशीहरूलाई अधिकार सम्पन्न बनाउन, विराट राजाको राजधानीसमेत रहेको ऐतिहासिक र पौराणिक आधारलाई ख्याल गरेर  पनि प्रदेशको नाम विराट प्रदेश राख्न उपयुक्त हुने उनीहरूको भनाई।  सुनसरी, मोरङ र झापामा  ३५ हजार भन्दा बढी राजवंशीहरू रहेको मण्डलले जानकारी दिए।  

समाजका महासचिव काशीनाथ राजवंशीले अल्पसंख्यक राजवंशी समुदायलाई राज्यको हरेक अङ्गमा आरक्षण दिन,विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गर्न र विराटनगर–१८ को भेडियारी स्थित विराट दरबार क्षेत्रको संरक्षण एवं प्रवद्धनकालागि विराट राजवंशीको नेतृत्वमा पर्यटकीय क्षेत्रको विकास गर्न माग गरे। प्रदेश १ का मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेशको नामकरण आफ्नै कार्यकालमा टुंगो लगाउने बताउँदै आएका छन्। 

प्रदेश १ को नामकरणमा विवाद हुँदा प्रदेश सभाको पहिलो कार्यकालमा नामकरण टुंगो लाग्न सकेन। प्रदेश १ को नामकरण गर्दा जातीय पहिचानका आधारमा गर्ने की भौगोलिक पहिचानका आधारमा गर्ने भन्ने विषय अझै पनि विवादित छ। प्रदेश सभाको दोस्रो कार्यकाल सुरू भए पनि प्रदेशको नामकरणको विषयमा दलहरूबिच औपचारिक छलफल भने सुरू भएको छैन। 

प्रकाशित: २६ माघ २०७९ १२:२७ बिहीबार

प्रदेश १