राजनीति

मधेसी मोर्चामा विवाद चर्कियो

काठमाडौं- संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आन्तरिक विवाद चुलिएको छ। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पहलमा आदिवासी, जनजाति र थारू सम्मिलित संघीय गठबन्धन बनाएदेखि नै चिसिएको नेताहरूको सम्बन्ध विस्तारै छरपस्ट हुँदै गइरहेको छ। संविधानमा आफ्ना माग सम्बोधन नगरेको भन्दै गत वर्षदेखि नै विरोधमा रहेका मधेसवादी दलले असोज ३ गतेलाई 'कालो दिन' को रूपमा मनाउने निर्णय गरे पनि विरोध कार्यक्रम भने फरक–फरक स्थानमा गर्ने तय गरेका छन्।

संविधानसँग जोडिएका हरेक विरोध कार्यक्रम सामूहिक रूपमा गर्दै आएका उनीहरूले सोमबारको विरोध कार्यक्रम छुट्टाछुट्टै मनाउने तय गरेका हुन्। मोर्चाका संयोजक उपेन्द्र यादवकोसहित तीन दलले रत्नपार्कस्थित शान्तिवाटिकामा विरोध कार्यक्रम गर्ने जनाएका छन् भने मोर्चाआवद्ध अन्य चार दलको विरोध कार्यक्रम माइतीघर मण्डलामा राखिएको छ। माइतीघर मण्डलामा विरोध कार्यक्रम राखेका दलमा महन्थ ठाकुर अध्यक्ष रहेको तराई–मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, अनिलकुमार झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिक छन्।

मधेसवादी दलले असोज ३ गतेलाई 'कालो दिन' को रूपमा मनाउने निर्णय गरे पनि विरोध कार्यक्रम भने फरक–फरक स्थानमा गर्ने तय गरेका छन्।

त्यस्तै यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम, शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेस समाजवादी पार्टी र महेन्द्र राय यादव अध्यक्ष रहेको तराई–मधेस सद्भावना पार्टीले रत्नपार्क शान्तिबाटिकामा विरोध कार्यक्रम राखेका हुन् । विरोध कार्यक्रम छुट्टाछुट्टै राखिनुमा मधेसवादी दलबीच केही समययता बढेको विवाद मुख्य कारण रहेको मोर्चाका नेता बताउँछन्। राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले संविधान जारी भएको दिन सबै दलको सहभागितामा रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध कार्यक्रम गर्ने निर्णय २० दिनअघि नै तय भएको बताए। 'मोर्चामा आवद्ध केही दलले पहिले तय भएको स्थान एकाएक परिवर्तन गरी अर्को ठाउँमा कार्यक्रम राखेको सुन्दा अचम्ममा परेका छौं,' उनले भने, 'रत्नपार्कको विरोधसभामा सहभागी नभई माइतीघरमा सामेल हुनुपर्ने कुनै आवश्यकता छैन। यो केवल मत बझाउने कुरा मात्र हो।'

सद्भावना पार्टीका महासचिव मनीष सुमन सबै दलको सहमतिमा माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गरिएको दाबी गर्छन्। 'रत्नपार्कमा कार्यक्रम जुधेका कारण माइतीघर मण्डलामा सारिएको हो,' उनले भने, 'विरोध कार्यक्रम सफल बनाउन मोर्चाका सबै दल र संघीय गठबन्धनको सहमति छ।' तर, रामसपाका महासचिव झा भने मोर्चाले २० दिनअघि नै रत्नपार्कमा विरोध कार्यक्रम तय गरिसकेकेको र सोमबार मोर्चाको निर्धारित कार्यक्रम अरु कसैसँग नजुधेको बताउँछन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसवादी, थारू, आदिवासी, जनजातिका माग सम्बोधन गर्न चाँडोभन्दा चाँडो संविधान संशोधन प्रक्रिया थाल्ने बताइरहेका बेला मोर्चा नै विभाजित हुन थालेपछि संविधान संशोधन थप पेचिलो देखिँदैछ। मधेसी मोर्चामा आवद्ध दलले संविधान संशोधन गर्नुपर्ने माग राख्दै आए पनि संशोधनका विषयमा फरक–फरक धारणा रहँदै आएका छन्। मोर्चाका कतिपय दल संविधानका ५२ वटा धारा संशोधन गर्नुपर्ने माग गरिरहेका छन् भने कतिपय दल त्योभन्दा कम संख्यामा संशोधन हुनुपर्ने बताउँछन्। दाहाल नेतृत्वको सरकारले भने सीमांकन, भाषा, नागरिकता र समानुपातिक समावेशीताका चार विषयमा संशोधन प्रक्रिया थाल्ने तयारी गरिरहेको छ।

प्रकाशित: ३ आश्विन २०७३ ०१:५४ सोमबार

मधेसी मोर्चामा विवाद चर्कियो