राजनीति

दाहालको अमेरिका भ्रमण रद्द, अख्तियार कारण नभएको प्रष्टिकरण

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण अन्तिम समयमा रद्द भएको छ। राष्ट्रसंघीय महासभामा भाग लिन सोमबार न्युयोर्क प्रस्थान गर्ने तयारी थियो।

‘संविधानप्रति असन्तुष्ट मधेसी तथा थारु दल तथा समूहहरुसँगको वार्तालाई घनिभूत बनाउन प्रधानमन्त्रीले भ्रमण रद्द गर्नुभएको हो’, दाहालको निजी सचिवालयका मनहरि तिमिल्सिनाले नागरिकन्युजसँग भने, ‘संविधान कार्यान्वयनलाई समय दिन उहाँले भ्रमण रद्द गर्नुभएको हो।’

प्रधानमन्त्री नजाने भएपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले गर्नेछन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा दिल्ली पुगेका उनी हिजो उतैबाट न्युयोर्क प्रस्थान गरिसकेका छन्। प्रधानमन्त्री दाहाल भारतको ४ दिने औपचारिक भ्रमण पूरा गरी आज दिउँसो नेपाल फर्र्किएका थिए।

‘संविधानप्रति असन्तुष्ट मधेसी तथा थारु दल तथा समूहहरुसँगको वार्तालाई घनिभूत बनाउन प्रधानमन्त्रीले भ्रमण रद्द गर्नुभएको हो’, दाहालको निजी सचिवालयका मनहरि तिमिल्सिनाले नागरिकन्युजसँग भने, ‘संविधान कार्यान्वयनलाई समय दिन उहाँले भ्रमण रद्द गर्नुभएको हो।’

मधेसवादी दलहरुसँगको वार्तालाई सार्थक निष्कर्षमा पुर्याउन तथा प्रमुख प्रतिपक्षीसँग छलफल गरी विश्वासको वातावरण तयार पार्न भ्रमण स्थगित गरिएको उनले बताए। दाहाल सोमबार संविधान दिवसको औपचारिक कार्यक्रम सकेर राति अमेरिका प्रस्थान गर्ने तालिका थियो। 

प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण अन्तिम समयमा स्थगित हुनुले कतिपयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकू शिविरमा भएको घोटालाको फाइल खुला गरेको सन्दर्भलाई लिएर हेरेका छन्। ‘अख्तियारका कारणले उहाँले भ्रमण रद्द गर्नुभएको होइन’, तिमल्सिनाले भने।

प्रकाशित: २ आश्विन २०७३ १७:२१ आइतबार

दाहालको अमेरिका भ्रमण रद्द अख्तियार कारण नभएको प्रष्टिकरण