राजनीति

भारतीय पत्रकारले सोधे– के अब मधेस आन्दोलन हुँदैन?

काठमाडौं–भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतको विहारका मुख्यमन्त्री नीतिश कुमारबीच भेटवार्ता भएको छ। दाहाल भेट्न नीतिश भारतस्थिन नेपाली दूतावास पुगेका थिए।

दाहाल-नीतिश भेटपछि नीतिशसँग भारतीय संचारकर्मीले सोधे– ‘नीतिशजी नेपाल–भारत सीमा सुरक्षाका विषयमा अझै शंका छ, फेरी मधेस आन्दोलन सुरु नहोला?’ नीतिशले जवाफमा छोटो एक बाक्य मात्रै खर्चिए– ‘प्रचण्डजी सक्षम हुनुहुन्छ।’

संचारकर्मीको भीड छिचोल्दै अघि बढेका नीतिश केहीबेर रोकिएर थपे ‘यस्ता धेरै मुद्दाहरु छन् जसकाबारेमा केन्द्र सरकारले कुरा गर्नेछ।’

नीतिशले भारतीय संचारकर्मीसँग के के भने? जस्ताको तस्तैः

प्रचण्डजी पहिलो पटक प्रधानमन्त्री बन्दा पनि मैले वहाँलाई भेटें। अस्ति नेपाल जाँदा पनि भेट भयो। प्रचण्डजी दोस्रो पटक प्रधानमन्त्री भएर भारत आउनु भएको छ, वहाँलाई भेट्न म आएको हुँ।

बिहार–नेपालबीच लामो खुला सीमा–सम्बन्ध छ। हामीबीचको सम्बन्ध अटुट छ, अलग, विशिष्ट र स्वाभाविक सम्बन्ध छ। यस नाताले पनि एकअर्काप्रति दुबै तर्फको चासो हुन्छ। हामी दुबैले आपसलाई आफ्नो सम्झन्छौं।

बिहारमा नेपालबाट आउने नदीको बारेमा पनि धेरै कुरा भएको छ। पहिले पनि यसबारे चर्चा भएको हो।

काठमाडुं–पटना हवाई उडान सेवा पुनः सुचारु हुनुपर्छ। यसकालागि हामीले केन्द्र सरकारसँग पनि अनुरोध गरेका छौं।

उत्तर बिहारमा जति पनि ठूला नदीहरु आउँछन् ति सबै नेपालबाट आउँछन्। त्यसले धेरै खालका नदीजन्य समस्याहरु पनि छन्। २००८ मा ठूलो ‘कोशि ट्रेजिडि’ भयो। यस्ता समस्याहरु आइरहन्छन्। त्यसैले नदी व्यवस्थापन हाम्रो साझा जिम्मेवारी र चुनौती हो।

सप्तकोशीमा ‘हाइ ड्याम’ बनाएर ठिक ढंगले नदी व्यवस्थापन गर्न सके बाढीको समस्या हल हुनेछ। सँगसँगै हाइड्रो पावरबाट नेपालको अर्थ व्यवस्था निकै मजबुत हुनेछ। मलाई विश्वास छ प्रचण्डजीको कुशल नेतृत्वमा नेपाल अगाडी बढ्नेछ। भारत वहाँलाई पूरा सहयोग गर्न तयार छ। मैले अर्कोपटक भारत आउँदा प्रचण्डजीलाई बिहार पनि आउन निम्तो दिएको छु।

प्रकाशित: ३१ भाद्र २०७३ ०८:४५ शुक्रबार

भारतीय पत्रकारले सोधे– अब मधेस आन्दोलन हुँदैन