राजनीति

‘जनयुद्ध’ दिवसमा कर्णाली सरकारले बिदा दिने

कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्कोे सोमबार बसेको बैठकले कर्णाली प्रदेशभार प्रदेश र स्थानीय तहका कार्यालयहरुमा मात्रै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीलाई तोक्ने निर्णय पनि गरेको छ। प्रदेश सरकारले मन्त्रालय गाभिए पनि चालू आर्थिक वर्षसम्म साविककै अख्तियारी र मन्त्रालयको नाममा बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको छ। सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई गाभेर भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालय बनाउने निर्णय गरेको थियो।

चालू आर्थिक वर्षको असार मसान्तसम्म भौतिक पूर्वाधार र उर्जाले यसअघि छुट्याइएको बजेट र कार्यक्रम अनुसार छुट्टाछुट्टै कार्यान्वयन गर्ने छन्।  

मन्त्रिपरिषद् बैठकले दुवै मन्त्रालयका सचिवहरुलाई पनि साविककै जिम्मेवारीमा काम गर्ने गरेर अख्तियारी तोकेको छ। ‘हाल कार्यरत भौतिक पूर्वाधार र यर्जा तथा जलस्रोत मन्त्रालयका सचिवहरुलाई साविककै जिम्मेवारी अनुसारै कार्यक्षेत्रमा कामकाज गर्ने गरेर निर्णय भएको छ’, प्रवक्ता जिसीले भने, ‘यसका साथै एकले अर्काको अनुपस्थितिमा एकले अर्काको कार्यसम्पादन गर्ने जिम्मेवारी पनि तोकिएको छ।’

प्रवक्ता जिसीका अनुसार गाभिएका मन्त्रालयको असार मसान्तभित्र संगठनात्मक तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरवन्दी निक्र्यौल गर्ने निर्णय पनि गरिएको छ। अवदेखि हरेक महिनाको दुई पटक मन्त्रिपरिषद् बैठक बस्ने निर्णय पनि भएको उनले जानकारी दिए।

‘मन्त्रिपरिषद्को बैठक फागुन महिनादेखि हरेक महिनाको दोस्रो र चौथौ हप्ताको बुधबार दिनको चार बजे बस्ने गरेर निर्णय भएको छ’, उनले भने, ‘कर्णाली समयमै हिँड्न र समयमै काम गर्छ भन्ने जुनखालको छाप बाहिर रहेको छ, त्यसलाई हामीले निरन्तरता दिनका लागि मन्त्रिपरिषद् बस्ने समय तोकेका हौं।’

प्रकाशित: २४ माघ २०७९ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App