राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा १ सय १६ जना

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीमा ५० जना सरकारी प्रतिनिधिहरु, ३३ जना उद्योगी/व्यापारी र ३३ जना संचारकर्मीको नाम स्विकृत भएको छ। सरकारी प्रतिनिधिमण्डलमा रहेका ५० जनामध्ये ८ जना नयाँदिल्ली स्थित नेपाली दूतावासका कर्मचारी रहेका छन् भने बाँकी ४२ जना काठमाडौंबाट प्रधानमन्त्रीसँगै जानेछन्।

‘प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलमा सरकारी, नीजि क्षेत्र (उद्योगी/व्यापारी) र संचारकर्मी समेत गरी १ सय १६ जनाको नाम स्विकृत भएको छ,’ स्रोतले नागरिकसँग भन्यो, ‘भारत प्रस्थान गर्ने बेलासम्म एक/दुई जना नाम थपघट हुनसक्छ।’ प्रधानमन्त्रीसँगै भारत प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलको नाम मन्त्रिपरिषद बैठकले अन्तिम स्वीकृत गर्न भने बाँकी छ।

स्रोतका अनुसार सरकारी प्रतिनिधिमण्डलमा परेका ५० जनाको मात्र सम्पूर्ण खर्च सरकारले व्यहोर्ने छ । यसमध्ये नयाँदिल्लीस्थित नेपाली दूतावासबाट सहभागी हुने कर्मचारीको स्थानिय खर्च मात्र सरकारले व्यहोर्ने छ । प्रतिनिधिमण्डलमा सहभागी गराईएका ३३ उद्योगी/व्यापारी र ३३ संचारकर्मीको खर्च भने उनीहरु स्वयमले व्यहोर्नेछन्।

प्रधानमन्त्री दाहालको भदौ ३० देखि असोज २ गतेसम्म हुने भारत भ्रमणमा उनीसँगै दुई जना मन्त्री र ५ जना सचिव पनि जानेछन् । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने मन्त्रीहरुमा परराष्ट्र मन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक छन् । यस्तै, परराष्ट्र सचिव शंकर दास वैरागी, उर्जा सचिव अनुपकुमार उपाध्याय, बाणिज्य सविच ङइन्द्रप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात सचिव धनबहादुर तामाङ र प्रधानमन्त्री कार्यालय सचिव पनि प्रधानमन्त्रीको भारत भ्रमणमा रहनेछन्।

प्रधानमन्त्री पत्नी सीत दाहाल, प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनाल, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल, प्रधानमन्त्री विदेश मामिला सल्लाहकार ऋषी अधिकारी, क्यामरा पर्सन दिनेश श्रेष्ठ र प्रधानमन्त्रीका दुई सुरक्षाकर्मी पनि नेपाली सरकारी टोलीमा सहभागी छन्।

 

 

प्रकाशित: २८ भाद्र २०७३ १४:३७ मंगलबार

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा १६ जना