राजनीति

प्रधानमन्त्रीको भ्रमण कार्यक्रम सार्वजनिक

काठमाडौं- सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमणको औपचारिक घोषणा गरेको छ। सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले बिहीबारबाट चार दिने राजकीय भारत भ्रमण सुरु गर्ने जनाएको हो। भ्रमण तालिकाअनुसार प्रधानमन्त्री भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कने छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्रीसँग  श्रीमती सीता दाहाल पनि सहभागी हुनेछिन्। भ्रमणका बेला प्रधानमन्त्री दाहाललाई भारतले राष्ट्रपति भवनमा राख्ने जनाइएको छ।

परराष्ट्रमन्त्री प्रकाशशरण महत अहिले भ्रमण तयारीका लागि भारतमा छन्। उनी पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा छन्। टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक पनि सहभागी हुने जनाइएको छ। केही सांसद, विभिन्न मन्त्रालयका पदाधिकारी, सञ्चारकर्मीलाई पनि भ्रमणमा सहभागी गराइने विज्ञप्तिमा उल्लेख छ।

परराष्ट्रका अनुसार भारत गएको दिन भदौ ३० गते प्रधानमन्त्री दाहालले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ। त्यही दिन उनले भारतका विभिन्न राजनीतिक दलका नेतासँग पनि भेटवार्ता गर्नेछन्। भदौ ३१ गते उनको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने गार्ड अफ अनर कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि महात्मा गान्धीको समाधिस्थल राजघाट जानेछन्।

भदौ ३१ गते नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सोही दिन केही भारतीय मन्त्रीले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नेछन्। असोज १ गते प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशस्थित जलविद्युत परियोजना अवलोकन गर्ने कार्यक्रम छ। सोही दिन पतञ्जली योगपीठको अवलोकन गर्ने जनाइएको छ। भारत भ्रमण बेला प्रधानमन्त्री दाहालले भारतका बौद्धिक वर्ग र व्यापारी समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ।

महत-स्वराज भेट

परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच द्विपक्षीय भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहालको भ्रमण तयारीका लागि आइतबार नयाँदिल्ली पुगेका उनले भारतीय समकक्षीसँग विगतका प्रतिबद्धता तथा आयोजना कार्यान्वयनमा देखिएका समस्या र दुई देशबीचको सम्बन्धलाई विश्वासका आधारमा अघि बढाउनेबारे छलफल गरेका थिए।  'नेपालको राष्ट्रिय स्वार्थ तथा हित, विगतका प्रतिबद्धता र विकास आयोजनाका बारेमा मैले कुरा उठाएँ,' भेटवार्ताका विषयमा महतले जानकारी दिए, 'आगामी दिन आपसी विश्वासका आधारमा सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा उहाँ गम्भीर हुनुहुन्थ्यो।' 

भेटमा दुवै पक्ष विगतका प्रतिबद्धता र आयोजनाका साथै हाल सञ्चालनमा रहेका कतिपय आयोजनाको कार्यान्वयनमा देखिएका समस्या हटाई निर्वाध रूपमा सुचारु गर्नेमा सहमत भएका थिए। पछिल्ला दिन नेपाल–भारत सम्बन्धमा आएको तिक्तता हटाई नेपाल–भारत सम्बधलाई थप सुमधुर र सुदृढ कसरी बनाउने भन्नेबारे छलफल भएको थियो। सम्बन्धलाई विश्वासको आधारमा अगाडि बढाउनुपर्नेमा दुवैले जोड दिएका थिए।

भेटमा नेपालका तर्फबाट प्रत्यक्ष जनतासँग सरोकार रहेका डुबान एवं बाढी नियन्त्रण, आयात निर्यात, हुलाकी राजमार्ग, सिँचाइ, नाका खोल्ने तथा तिनलाई व्यवस्थित गर्नेदेखि लिएर पञ्चेश्वरलगायत अन्य ठूला आयोजनाबारे कुरा परराष्ट्रमन्त्री महतले बताए।

प्रकाशित: २८ भाद्र २०७३ ०२:१९ मंगलबार

प्रधानमन्त्रीको भ्रमण कार्यक्रम सार्वजनिक