राजनीति

जन्म र मृत्यु संस्कार हुँदा कर्णालीमा दिने भनिएको २० केजी चामलप्रति मन्त्रीकै असन्तुष्टी

सुर्खेत- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा दिने भनिएको २० केजी चामलप्रति असन्तुष्टी व्यक्त गरेका छन्। उनले जन्म र मृत्यु संस्कारमा २० केजी निःशुल्क चामल दिनुभन्दा राज्यले कर्णालीमा प्रयाप्त चामल पुर्याउनुपर्ने बताए। ‘कर्णालीका जनताले अहिले पैसा तिरेर पनि चामल किन्न नपाएको अवस्था छ’ सोमबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शाहीले भने, ‘यस्तो अवस्थामा जन्म र मृत्यु संस्कारमा निःशुल्क चामल दिन्छु भन्नुको कुनै अर्थ छैन्।’

प्रधानमन्त्री पुष्पकमल दाहालले गत बिहीबार व्यवस्थापिका संसदमा राष्ट्रका नाममा सम्बोधन गर्दै जन्म र मृत्युमा २० किलो चामल दिने घोषणा गरेका थिए । उनले प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद्कै सदस्य भएपनि यसबारेमा आफूलाई नसोधिएको भन्दै असन्तुष्टी व्यक्त गरे । ‘पैसा तिरेर चामल नपाइराखेको अवस्थामा जन्मदा र मर्दा निःशुल्क चामल दिन्छु भन्नु सुहाउने कुरो होइन्’ उनले भने, ‘बरु कर्णालीमा कसरी चामल पुर्‍याउन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ।’ उनले प्रधानमन्त्रीको सम्बोधनपछि भइरहेको विरोधलाई पनि अर्थहिन बताए।

                जुम्ला र कालीकोट बाहेकका तीन जिल्लामा अहिले पनि खाद्यान्न संकट कायमै रहेको भन्दै ति जिल्लाहरुमा सहज तरिकाले चामल पुर्‍याउने वातावरण बनाइनुपर्ने उनको भनाई छ । ‘अहिले विरोधका नाममा विरोध भइरहेको छ, यो राम्रो होइन्’ उनले भने, ‘निःशुल्क चामल दिने भन्दा पनि कर्णालीका जनताले पैसा तिरिसकेपछि चामल पाउने वातावरण तयार गर्नुपर्छ।’

                संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री शाहीले सात वटै प्रदेशमा एक–एक वटा हवाइजहाज राख्ने तयारी भइरहेको बताएका छन् । उनले सम्वन्धीत प्रदेशका जनतालाई सर्वसुलभ हवाई सेवा प्रदान गर्ने उद्देश्यले ‘एक प्रदेश, एक जहाज’ को अवधारणा ल्याइएको बताए । ‘अहिलेसम्म हामीले अन्तराष्ट्रिय उडानमा मात्रै ध्यान दियौं, आन्तरिक सेवामा हाम्रो ध्यान पुग्न सकेको छैन्’ पर्यटन मन्त्री शाहीले भने, ‘मेरो कार्यकालभित्र सबै प्रदेशमा एक–एक हवाइजहाज राख्नका लागि प्रक्रियाको थालनी गरिसकेको छु।’

                पर्यटन मन्त्री शाहीले अन्तराष्ट्रिय उडानका लागि ठूला जहाज र आन्तरिक उडानका लागि साना जहाज खरिदको प्रक्रिया सुरु भएको भन्दै अन्तराष्ट्रिय उडानबाट भएको आम्दानीबाट आन्तरिक उडानमार्फत ग्रामिण क्षेत्रका जनतालाई सहुलियन दिइने बताए । ‘अन्तराष्ट्रिय र आन्तरिक उडानका लागि आवश्यक जहाज खरिद प्रक्रिया सुरु भएको छ’ मन्त्री शाहीले भने, ‘अन्तराष्ट्रिय उडानले कमाएको डलरबाट ग्रामिण क्षेत्रका जनतालाई आन्तरिक सेवामा सहुलियत प्रदान गछौं ।’ उनले आउने दशैबाट नेपाल बायु सेवा निगममार्फत नेपालगञ्ज–कर्णाली–सुर्खेतबाट सहुलियत उडान सुरु हुने बताए ।

                मन्त्री शाहीले सबै प्रदेशमा एक–एक वटा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, पर्यटन कार्यालय र बन्द भएका विमानस्थल सञ्चालन आफ्नो लक्ष्य भएको बताए । ‘सात वटै प्रदेशमा एक–एक वटा पर्यटन कार्यालय र क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि संभाव्यता अध्ययनको काम सुरु भइसकेको छ’ उनले भने, ‘संभाव्यता अध्ययनको काम सक्ने वित्तिकै काम सुरु हुन्छ ।’

                उनले प्रस्तावित छैठौं प्रदेशको विकासका लागि पर्यटन पहिलो आधार भएको बताए । त्यसका लागि सुर्खेतमा चाँडाभन्दा चाँडो पर्यटन कार्यालय स्थापना हुने उनले बताए । मन्त्री शाहीले कर्णालीका पाँच वटै जिल्लामा हवाई सेवा पुर्याउने उद्देश्यले कालिकोटको सुनथराली विमानस्थल निर्माणको काम भइरहेको बताए । निर्माण सुरु भएको ३० वर्ष पुग्दा पनि सुनथराली विमानस्थल अझै पूर्ण नभएको भन्दै अवको चार महिनाभित्र पूर्णतया सञ्चालनमा ल्याउने बताए । ‘मन्त्री हुने वित्तिकै सुनथराली विमानस्थलमा पुगेको थिएँ, काम पूरै बन्द भएको रहेछ’ उनले भने, ‘तत्कालै सरोकारवालाहरुलाई निर्देशन दिएर काम सुरु भएको छ, चार महिनाभित्रै विमानस्थल सञ्चालनमा आउँछ ।’

 

प्रकाशित: २७ भाद्र २०७३ १२:०४ सोमबार

मृत्यु संस्कार हुँदा कर्णालीमा दिने भनिएको २० केजी चामलप्रति मन्त्रीकै असन्तुष्टी