राजनीति

राष्ट्रिय आयोजनाको अनुगमन प्रधानमन्त्रीले आफैँ गर्ने

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनबारे आफैँले अनुगमन गर्ने बताएका छन्। राष्ट्रिय विकास समस्या समाधान समितिको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने,“राष्ट्रिय गौरवका आयोजना तालिका बनाएर म आफैँ अनुगमन गर्छु । सबै मन्त्रीले पनि आफ्ना मातहतका आयोजनाको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नुस् ।”

बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर विनियोजित पुँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेकामा जोड दिए।

बैठकमा प्रधानमन्त्रीले भने,“एकातिर विकास आयोजनामा रकमको अभाव हुने र अर्कोतिर पुँजीगत खर्चको सामथ्र्य बढाउन नसकेको समस्या छ । यसवर्ष पुँजीगत खर्चको सामथ्र्य कम्तिमा ८० प्रतिशत पु¥याउन राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र लापर्बाही, ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रावधान आवश्यक छ ।”

बैठकमा प्रधानमन्त्रीले विकास आयोजनासम्बन्धी समितिका बैठकमा आवश्यक गृहकार्य गरेर उपस्थित हुन मन्त्री र सचिवलाई निर्देशन दिए। प्रधानमन्त्री दाहालले भने,“विकासका काममा संवेदनशील हुन जरुरी छ । जनताले नयाँपनको अनुभूति गर्नुपर्दछ । त्यसका लागि मन्त्री र सचिवले आवश्यक गृहकायलाई अगाडि बढाउनु होला ।”

उनले सङ्घीय ढाँचाअनुसार विकासका आयोजना छनोट र कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै त्यसको तयारी गर्न पनि मन्त्री र सचिवलाई निर्देशन दिए। प्रधानमन्त्री दाहालले मुलुकलाई आत्मनिर्भर बनाउन स्पष्ट कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने बताए।

बैठकमा उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, सचिवहरुले विकास आयोजनाको स्थिति, समीक्षा, प्रगति विवरण र आगामी योजनाबारे आ–आफ्ना प्रगति विवरण र सुझाव पेस गर्रेका थिए। रासस

प्रकाशित: २७ भाद्र २०७३ ०७:५१ सोमबार

राष्ट्रिय आयोजनाको अनुगमन प्रधानमन्त्रीले आफैँ गर्ने