राजनीति

‘वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन’

काठमाडौं–मुलकको सर्वाङ्गीण विकासका लागि वैज्ञानिक अनुसन्धान तथा खोजलाई प्राथमिकतामा राख्नुपर्ने राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । ‘विज्ञानको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिएमा मात्र गरिबी न्युनीकरणमा सहयोग पुग्छ,’ नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सले आयोजना गरेको ‘नेपालमा भौतिकशास्त्रः चुनौती र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा.डा. जीवराज पोखरेलले भने, ‘विकास योजनामा वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा नराख्दा नेपालजस्ता मुलुक पछाडि परेका हुन् ।’

नेपालमा भौतिकशास्त्र तथा अन्य विज्ञानको क्षेत्रमा काम गर्नका लागि विभिन्न चुनौती भए पनि अवसर पनि उत्तिकै रहेको उनले औंल्याए । ‘कुनै पनि समस्यालाई आंशिक रूपमा विश्लेषण गर्ने हाम्रो परिपाटी छ, विकास निर्माणका काममा वैज्ञानिक तथा दीर्घकालीन सोच जरुरी छ,’ उनले भने । जीवन र विज्ञानको अपरिहार्य सम्बन्ध भएकाले भौतिक विज्ञानका सिद्धान्त मानव कल्याणकारी क्रियाकलापमा केन्द्रित रहनुपर्ने उनको भनाइ छ । नास्टले पछिल्लो समय विपद् न्युनीकरणलगायत विभिन्न वैज्ञानिक क्षेत्रमा अनुसन्धानमूलक कार्य गर्दै आएको र ती काम हाम्रो परिवेशका लागि उपयोगी रहेका उनले जानकारी दिए। ‘विज्ञान तथा प्रविधिका क्षेत्रमा अहिले गरिएका काम मात्र पर्याप्त छैनन्, यो क्षेत्रको विकासका लागि सरकार, विज्ञान–प्रविधि मन्त्रालय, नास्टलगायत सबै पक्षसँग एकत्रित भएर अघि बढ्नु जरुरी छ,’ उनले भने।  

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भौतिकशास्त्रका प्रा.डा. उदयराज खनालले विज्ञानको क्षेत्रमा काम नगरीकन खाली वैज्ञानिक शब्दावली मात्र प्रयोग गर्ने प्रवृत्तिले नेपालमा पछाडि परेको औंल्याए । ‘हामी वैज्ञानिक शिक्षा, वैज्ञानिक भूमिसुधार त भन्छौं, तर त्यसका लागि कहिल्यै वैज्ञानिक सोच र चिन्तन विकास गरेनौं,’ खनालले भने, ‘वैज्ञानिक शब्दावली रटान गरेर मात्र देश उभो लाग्दैन ।’ ‘भौतिकशास्त्र विज्ञानको धन हो’ भन्ने वैज्ञानिक अब्दुस सलामको भनाइ उद्धृत गर्दै खनालले सन् १९८९ सालमा सलाम नेपाल भ्रमणमा आउँदा अन्तर्राष्ट्रिय हाई टेक सेन्टर नेपालमा खोल्न उनले चासो दिए पनि यहाँको राजनीतिक नेतृत्वले त्यसलाई चासो नदिएको बताए । ‘त्यस बेला नेपालमा  ‘हाइटेक सेन्टर’ स्थापना गरेको भए अहिलेसम्म विज्ञान–प्रविधिको क्षेत्रमा धेरै काम भइसक्ने थियो,’ उनले भने।

भौतिकशास्त्र मानव जीवनका हरेक पक्षमा उत्तिकै आवश्यक रहे पनि यसले व्यावहारिक विज्ञान–प्रविधि, वित्तीय क्षेत्र र सामाजिक आयामलाई केन्द्रमा राख्ने उनको भनाइ छ।  

नेपालमा भौतिकशास्त्रमा स्नातकोत्तर तथा पीएचडी गरेका अधिकांश व्यक्तिहरु शिक्षण कार्यमा रहेको उदाहरण प्रस्तुत गर्दै सरकारले अनुसन्धानलाई प्राथमिकतामा राख्न नसक्दा धेरै नेपाली वैज्ञानिक पलायन भएका उनले जानकारी दिए । ‘भौतिकशास्त्र पढिसकेपछि अनुसन्धानमूलक कार्यभन्दा जागिर खानुपर्ने बाध्यता छ, यसका लागि मुलुकभित्रै आवश्यक वातावरण तयार हुनुपर्छ,’ उनले भने । कृषि, स्वास्थ्य, भौतिक निर्माणलगायत क्षेत्रमा उच्च प्रविधि प्रयोग भइसके पनि हामी भने अझै पुरानै शैलीबाट गुज्रिरहेको विचार उनले व्यक्त गरे।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्रा. डा. रामप्रसाद खतिवडाले विज्ञान बोधगम्य हुनुपर्ने र विज्ञानलाई व्यवहारमा लागू गर्न वैज्ञानिक चिन्तन आवश्यक रहेकोमा जोड दिए । ‘नेपालमा कस्तो खालेको प्रविधि आवश्यक छ भन्ने कुरा निक्र्योल गरिनुपर्ने र त्यसकै आधारमा भौतिक विज्ञानले अनुसन्धान अगाडि बढाउनुपर्छ, यसो भएमा सामाजिक समस्या समाधान गर्न मद्दत पुग्छ’ उनले भने। नीति–निर्माण तह तथा प्राज्ञिक क्षेत्रबीचको अन्तर्संवादलाई अझै जीवन्त बनाउनसके विज्ञान–प्रविधिको क्षेत्रलाई अगाडि बढाउन सहयोग मिल्ने उनको धारणा छ।

 काठमाडौं विश्वविद्यालय, विज्ञान संकायका डिन मोहनविक्रम ज्ञवालीले विकासका लागि प्रविधि आवश्यक रहेको र त्यसका लागि भौतिक विज्ञानको क्षेत्र गहन अनुसन्धान गरिनुपर्ने विचार व्यक्त गरे। कार्यक्रममा भौतिकशास्त्रका प्रा. डा. लोकनारायण झा, प्रा. डा. जीवनज्योति नकर्मी, प्रा. चिरिकशोभा ताम्राकार, बीपी प्लानेटोरियमका कार्यकारी निर्देशक प्रा. डा. शोभाकान्त लामिछाने, प्रा. डा. नीलम श्रेष्ठ प्रधानलगायतले आफ्नो धारणा राखेका थिए । नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सका सचिव लक्ष्मण डंगोल र कार्यक्रम प्रमुख राजन पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए।       

प्रकाशित: २६ भाद्र २०७३ १३:०८ आइतबार

वैज्ञानिक अनुसन्धान प्राथमिकतामा परेन