राजनीति

मुख्यमन्त्रीले यो ‘मालाले मेरो कोटमा दाग लाग्यो’ भनेपछि...

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी शनिबार दिनभरजसो बागलुङका विभिन्न कार्यक्रममा सहभागी भए। लायन्स क्लबको क्याबिनेट मिटिङ उद्घाटन गर्ने उनको मुख्य कार्यक्रम थियो। त्यो बाहेक उनी बिहानैबाट बागलुङका विभीन्न अन्य कार्यक्रममा सहभागी भए। बागलुङ प्रवेश गर्नासाथ बागलुङ कालिका भगवती मन्दिर पसेर त्यहाँ दर्शन गरेका उनले त्यसलगत्तै धौलागिरि बहिरा आवासीय विद्यालयको अबलोकन गरे। त्यसपछि लायन्स क्लब ३२५ के को तेस्रो क्याबिनेट बैठकलाई बागलुङमा उद्घाटन र सम्बोधन गरे। लायन्सको कार्यक्रम उद्घाटनपछि छोटो सम्बोधन गरी निस्केका मुख्यमन्त्री अधिकारीले त्यसपछि नेकपा एमाले बागलुङले आयोजना गरेको कार्यक्रममा सहभागी भए।

दिउँसो धौलागिरि अस्पताल बागलुङले आयोजना गरेको मुख्यमन्त्री तथा बागलुङबाट गण्डकी प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सहभागी भए। लायन्स क्लब र धौलागिरि अस्पतालको कार्यक्रममा अतिथीको स्वागतका लागि भारतीय फूलका माला तयार थियो। लायन्स क्लबको कार्यक्रममा स्वागतका लागि लगाईदिएको फूलको माला केही गलामा लगाईदिँदा बित्तीकै उतारे। केही समयपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूलाई लगाईदिएको माला सहित पोडियममा पुगेका मुख्यमन्त्री अधिकारीले आयोजकप्रति नै ताना कसे।  

आफुलाई लगाईदिएको माला हातमा देखाउँदै अधिकारीले भने, ‘यो माला मैले यहाँ किन ल्याएको भने, मैले केही कुरा भन्नुछ, यो माला मैले लगाउँदा मेरो कोट पनि समातियो, यसको दाग पनि यहाँ बस्यो, यो फूल पनि नेपालको होइन। तपाईहरू स्वाभिमानी हुनुहुन्छ स्वाबलम्बी हुनुहुन्छ। उत्पादन कार्यमा लाग्नुपर्‍यो, हामीले दिनैपर्ने भए नेपाली फुल दिऊँ, सक्दैनौं हाम्रो नेपाली परम्परा छ, हात जोडेर नमस्कार गरौं।’ मुख्यमन्त्री अधिकारीले यस्तो भन्दै गर्दा आयोजकका मुख्य मान्छेहरू अक्कमक्क परे। तलपट्टिबाट हाँसो सहित तरर ताली बज्यो। मुख्यमन्त्री अधिकारीले आसन ग्रहण र खादा मालामा बढी समय बर्बाद नगर्नसमेत आग्रह गरे।  

‘हामी यो खादा माला अबिरमा धेरै समय बर्बाद नगरौं,’ मुख्यमन्त्री अधिकारीले भने, ‘म लायन्सबाट सिक्न चाहान्छु, हामी यो आसन ग्रहणबाट हैरान छौं। कुनै पनि सामुदायिक विद्यालयको कार्यक्रममा गयौं भने पनि आसन ग्रहण कम्तीमा ४५ मिनेटभन्दा लामो हुने गरेको छ। सार्वजनिक कार्यक्रममा जाँदा म एक घण्टाभन्दा बढी बस्न सक्दिन।’ यो क्याबिनेट मिटिङ भएकाले अलिकति  भए पनि बढी बसिरहेको छु।’ मुख्यमन्त्री अधिकारीले समय बचाउने र समयमै काम गर्ने अभियान चलाउनुपर्ने बताए। ‘अब नेपालमा समय बचाउने र समयमै काम गर्ने अभियान सञ्चालन गर्नुपर्नेछ,’ उनी भन्छन्, ‘यो काम लायन्सबाटै सुरु होस् भन्ने चाहन्छु। मैले लायन्सबाट धेरै कुरा सिक्न चाहान्छु।’ अधिकारीले लायन्स क्लबमा पूर्व पदाधिकारीको पनि सम्मान हुने र भोलि आउने पदाधिकारी पनि निश्चित हुने गरेकाले कुनै अस्वस्थ प्रतिस्पर्धा नहुने भन्दै त्यसबाट राजनीतिक दलहरू पनि सिक्नुपर्ने बताए। धौलागिरि अस्पतालको सम्मान कार्यक्रमा पनि उसैगरी आयातित फुलको माला लगाइदिएपछि मुख्यमन्त्री अधिकारीले आयोजकलाई हकारे। ‘अभिनन्दनको कार्यक्रम राख्नुभएको छ, पहिलो दिन त माला लगाइदिन पर्‍यो, तपाईंले लाइदिएको माला नेपालको हुनुपरेन ? किन भारतको माला लिएर हामीलाई अभिनन्दन गर्ने ? पैसा किन भारत लाने ? माला छैन भने तपाइसँग पातीका मुन्टा होला, लालुपाते होला त्यही ल्याएर दिनुस् न,’ अधिकारीले भने, ‘भारतको सामानले सजिएर गौरवको अनुभूति हुँदैन। हाम्रैमा सयपत्री फूल उत्पादन हुन्छ, इण्डियामा हुनसक्ने नेपालमा हुँदैन। अनि हाम्रा गलाको माला भारतकोको सजिँदा हामी गौरवान्वित हुने ? एकछिनपछि पुरै कोटमा टाँसिन्छ। कपडा कपडा बिग्रियो।’

प्रकाशित: २२ माघ २०७९ ०१:२२ आइतबार

गण्डकी प्रदेश खगराज अधिकारी