राजनीति

निकटका कलेजलाई सम्बन्धन दिने दाउमा प्रधानमन्त्री दाहाल

काठमाडौं-चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सत्ताबाहिर रहँदा आठाैं अनशन क्रममा सरकारसँग भएका सम्झौता उल्लंघनमा प्रधानमन्त्री पुष्पकमल दाहाल नै उद्यत भएको आरोप लगाएका छन् ।

सत्ताबाहिर रहँदा सरकारसँग हुने सम्झौता कार्यान्वयनका लागि बचन दिएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पछिल्लो समय आफूनिकटका कलेजलाई सम्बन्धन दिन उद्यत रहेको आरोप डा. केसीले लगाए ।

आफू कार्यरत त्रिवि शिक्षण अस्पतालको डक्टर्स रुममा शनिबार पत्रकार सम्मेलन आयोजना गरेरै डा. केसीले आठौं अनशन क्रममा भएका सम्झौता कार्यान्वयनका लागि नवौं अनशन थाल्ने मितिसमेत घोषणा गरे ।

‘आठौं अनशनमा मैले अब खाएर लड्छु भनेको थिएँ, त्यसरी लड्दा सुनेनन्,’ डा. केसीले भने, ‘अब फेरि सत्याग्रहमा जाने अवस्था आयो ।’
माग पूरा गर्न असोज २ सम्मको अल्टिमेटम दिँदै उनले सम्झौता कार्यान्वयन नभए ३ गतेदेखि नै अनशन थाल्ने बताए ।

‘आठौं अनशनमा मैले अब खाएर लड्छु भनेको थिएँ, त्यसरी लड्दा सुनेनन्,’ डा. केसीले भने, ‘अब फेरि सत्याग्रहमा जाने अवस्था आयो ।’
माग पूरा गर्न असोज २ सम्मको अल्टिमेटम दिँदै उनले सम्झौता कार्यान्वयन नभए ३ गतेदेखि नै अनशन थाल्ने बताए ।

उनले नयाँ संविधान जारी भए पनि जनताका पक्षमा काम नभएको भन्दै सोहीविरुद्ध आफूले संविधान दिवसकै दिन पारेर अनशन थाल्ने तयारी गरेको बताए ।

आठाैं अनशनका क्रममा दाहालले आफ्ना प्रतिनिधिका रुपमा हालका ऊर्जामन्त्री जनार्दन शर्मा र कांग्रेस सभापतिका तर्फबाट हालका सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले अनशनस्थलमै पुगेर सरकारसँग हुने सम्झौता कार्यान्वयन गर्ने वचन दिएका थिए ।

‘पुरानो सरकार जाने पक्का भइसकेको थियो, दाहालको नेतृत्वमा नयाँ सरकार बन्ने भइसकेको थियो,’ डा. केसीले शनिबार नागरिकसँग थपे, ‘कांग्रेस र माओवादीका उच्च तहका नेता आएर वचन दिएपछि नै अनशन तोडेको थिएँ ।’

डा. केसीले केही दिनअघि आफूले भेटेरै प्रधानमन्त्री दाहाललाई भेटेरै समेत यो कुरा स्मरण गराउँदा उनले माग सम्बोधन गर्ने वचन पनि दिएको तर व्यवहार उल्टो देखाएको बताए ।

‘मैले भेटेको ४८ घन्टा नहुँदै एउटा कलेजलाई सम्बन्धन दिन निर्देशन दिएछन्,’ डा. केसीले भने ।
पछिल्लोपटक अर्को कलेज काठमाडौं नेसनललाई सम्बन्धन दिन त्रिविले थालेको तयारीसमेत प्रधानमन्त्रीकै इशारामा भएको आशंका गरे । उनले आफू कुनै कलेजविरुद्ध नलागेको र सरकारले नीतिनियम बनाएर व्यवस्थित गरोस् भन्ने पक्षमा रहेको बताए । ‘सबै कुरा छर्लंग छ, पछिल्लोपटक सम्बन्धनका लागि चर्चामा आएका दुवै कलेज उहाँकै कार्यकर्ताका हुन् ।’

हालसम्म सम्बन्धनका लागि निवेदन नहालेको दमकस्थित बिएन्डसी र काठमाडौं नेसनल दुवैमा माआवोदी केन्द्रका नेताको लगानी छ । बिएन्डसीमा दाहाल निकट दुर्गा प्रसार्इं र काठमाडौं नेसनलमा माओवादी केन्द्रका तर्फबाट वीरगन्जबाट उम्मेदवार बनेका जयुद्दिन अन्सारीको लगानी छ । झापाको कलेजले मेचीमा एउटा पनि कलेज नभएको र काठमाडौ नेसनललाई अदालतको बहानामा सम्बन्धन दिने तयारीमा प्रधानमन्त्री दाहाल लागेका छन् ।
डा. केसीले अदालतले ‘नियमअनुसार गर्नू’ भनेकोमा पनि सञ्चालकहरुले गरेको व्याख्यालाई आधार बनाएर सम्बन्धनको खेल भइरहेको र त्यसमा दाहालको समेत संलग्नता हुनसक्ने आशंका गरे ।

‘मेरै संस्था (आइओएम) का पदाधिकारीसमेतलाई ठूलो दबाब र प्रभावमा पारिसकेको सुनेको छु,’ उनले भने, ‘त्रिवि भिसी त पार्टीकै मान्छे हुन् ।’ हाउजिङका लागि बनाइएको भवन नचलेपछि कलेज खोल्ने गरी अगाडि बढाइएको काठमाडौं नेसनलले हालसम्म स्वास्थ्य मन्त्रालयबाट अस्पताल सञ्चालन अनुमति, वातावरणीय प्रभाव मूल्यांकन गरेको छैन भने, भवन विभागबाट प्रमाणपत्रसमेत लिएको छैन ।

त्रिवि पदाधिकारीले दबाबमा तयार पारेको निरीक्षण प्रतिवेदनका आधारमा सम्बन्धन दिलाउन उपकुलपति डा. तीर्थ खनियाँ नै लागिपरेका छन् । खनियाँले केही दिनअघि आइओएमका डिनलाई पत्र लेखेरै निर्णय गर्न दबाब दिएका थिए । दलका कार्यकर्ता भएको र नैतिक धरालत कमजोर भएकै कारण त्रिविका उपकुलपति नै प्राज्ञिक मर्यादा भुलेर माफियाको इशारामा नेसनललाई सम्बन्धन दिन लागिपरेको डा. केसीले बताए ।

डा. केसीले सरकार जानुपूर्व जुनसुकै नेता र प्रधानमन्त्रीले पनि मागलाई राम्रो भन्दै कार्यान्वयनको वचन दिने गरे पनि कुर्सीमा बसेपछि मेडिकल माफियाको इशारामा चल्ने गरेको दुःखेसो गरे ।

‘जुन पार्टी सत्तामा गयो, त्यही पार्टीनिकटका मेडिकल माफिया हाबी हुन्छन्,’ उनले थपे, ‘अहिले पनि प्रधानमन्त्री हेल्पलेस छन्, नत्र हामी सरकारमा आउनासाथ लड्छौं भनेको मान्छे कहाँ गए त ?’ उनले माफियाले खरिद गर्न नसकेका नेताले आवाज उठाए पनि उनीहरुको आवाज नै सानो भएको टिप्पणी गरे ।

‘शीर्षस्थ नेता नै बिक्रीमा छन्,’ डा. केसीले भने, ‘नत्र बंगुर पाल्न खोलेकै भवनमा कलेज खोल्छु भनेर लगानी गर्यो भने पनि सम्बन्धन बाँड्दै हिँड्ने ?’ ।

 

प्रकाशित: २६ भाद्र २०७३ ०१:२९ आइतबार

निकटका कलेजलाई सम्बन्धन दिने दाउमा प्रधानमन्त्री दाहाल