राजनीति

‘खिचडी सत्ता गठबन्धनबाट संघीयता र गणतन्त्र खतरामा’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि मुलुकमा स्थिरता कायम हुने अपेक्षा गरिए पनि झन् अस्थिरता उत्पन्न भएको निष्कर्ष निकालेको छ। नेकपा एमालेसहितका दलहरूको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा बनेको वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिँदै नेकपा एसले यो गठबन्धनबाट संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन नसक्ने ठहर पनि गरेको छ।  

केन्द्रीय कमिटीको शनिबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले २५ पृष्ठको प्रतिवेदन पेस गर्दै निरंकुश प्रतिनिधिसभा बन्दा मुलुक झन् अस्थिरतातर्फ धकेलिने खतरा उत्पन्न भएको बताएका हुन्। ‘अहिलेको प्रतिनिधिसभा त्रिशंकु मात्र होइन, खिचडी प्रकृतिको समेत छ। त्यहाँ गणतन्त्रवादी र गणतन्त्रविरोधी, संघीयतावादी र संघीयताविरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादी, परिवर्तनकारी र पुनरुत्थानवादी, यथास्थितिवादी र अग्रगामी आदि चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन्।’ प्रतिवेदनमा यी शक्तिहरूबीचको द्वन्द्वले मुलुक अस्थिरतातर्फ गई संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति खतराको अवस्था आउन सक्ने उल्लेख गरिएको छ। मुलुकमा स्थिरता कायम नभएसम्म भूराजनीतिक जटिलता थपिँदै जाने र राष्ट्रियतामाथि दखल पुग्ने प्रतिवेदनमा लेखिएको छ।

 

 अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार मत पाउन नसकेको तर राजतन्त्र पुनस्र्थापना गर्न चाहने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनमत बढेको उल्लेख गरेका छन्। केपी ओली नेतृत्वको तत्कालीन सरकारले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि त्यो प्रतिगामी कदमविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन संविधानको रक्षा गर्न असफल भएको प्रतिवेदनमा उल्लेख छ। निर्वाचनमा व्यक्त प्रतिबद्धताअनुसार वाम–लोकतान्त्रिक गठबन्धनको सरकार बन्न नसक्नुमा नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दोषी देखाएका छन्। ‘निर्वाचनपछि दुवैले आफू पहिले प्रधानमन्त्री बन्नुपर्ने अडान लिएको र एकपटक वचन दिइसकेका शेरबहादुर देउवा प्रचण्ड (पुष्पकमल दाहाल) लाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन तयार भएनन्। त्यसैकारण प्रचण्ड अप्रत्यासित रूपमा एमालेसहितका दलहरूसँग गठबन्धन गरी प्रधानमन्त्री बन्न गएकाले निर्वाचनका बेला कायम रहेको वाम–लोकतान्त्रिक गठबन्धन भंग भयो,’ प्रतिवेदनमा लेखिएको छ।  

अप्रत्यासित रूपमा नयाँ परिस्थिति उत्पन्न हुनुको कारण औंल्याउँदै प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘निर्वाचनबाट ठुलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमन्ड बढ्नु, कांग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु हो।’ वाम–लोकतान्त्रिक गठबन्धन भंग हुनुमा एमाले अध्यक्ष केपी ओलीको चालबाजीले पनि काम गरेको नेपालको निष्कर्ष छ। प्रतिवेदनमा लेखिएको छ, वाम–लोकतान्त्रिक गठबन्धन जसरी पनि फुटाउने केपी ओलीको चालबाजी, माओवादी केन्द्रको सत्ताकेन्द्रित सोच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिँड्ने प्रवृत्तिले पनि गठबन्धन भंग भयो।’

अध्यक्ष नेपालले प्रतिवेदनमा माओवादी केन्द्रको नेतृत्वमा बनेको वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिँदै यसबाट संविधानको रक्षा, पालना र मुलुकको आर्थिक विकास नहुने दाबी गरेका छन्। ‘संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी केन्द्र र गणतन्त्रको विरोधी एवं हिन्दु राज्य र राजतन्त्र पुनस्र्थापना गर्न चाहने राप्रपा, संघीयता पक्षधर जसपा र संघीयता विरोधी राप्रपा एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जातीय पहिचानवादी नागरिक उन्मुक्ति पार्टी (नाउपा) र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा छन्,’ प्रतिवेदनमा लेखिएको छ, ‘यो गठबन्धन प्रगतिशील चरित्रको छैन।’ प्रतिवेदनमा विचारहीन र अराजनीतिक चरित्रको वर्तमान सत्ता गठबन्धनको वैचारिक धरातल र राजनीतिक गन्तव्य स्पष्ट नरहेको दाबी गर्दै लेखिएको छ, ‘यसलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धन भन्नु उपयुक्त हुन्छ।’

दुईदुई पटक प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीले फेरि पनि सत्ता गठबन्धनका नाममा मुलुकलाई दक्षिणपन्थी दिशातर्फ लैजाने प्रयत्न गरिरहेको आरोप अध्यक्ष नेपालले लगाएका छन्। ‘तिनै केपी ओली वर्तमान सत्ता गठबन्धनले निर्माण गरेको राजनीतिक संयन्त्रको प्रमुख बनेका छन्,’ प्रतिवेदनमा लेखिएको छ, ‘उनले आफ्नो दृष्टिकोण र उद्देश्यअनुरूप गठबन्धनलाई घोर दक्षिणपन्थी दिशातर्पm लाने प्रयत्न गर्दैछन्।’

वर्तमान सरकारको स्वरूप एकदमै भद्दा भएको, स्वार्थ बाझिने गरी मन्त्रीहरू नियुक्त भएको र अपरिपक्व व्यक्तिहरू मन्त्री भएको नेपालको ठहर छ।

सत्ता गठबन्धन दलका नेता र मन्त्रीहरूका अभिव्यक्तिले संविधान, गणतन्त्र र संघीयतामाथि खतरा पैदा भएको उल्लेख गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘सत्ता गठबन्धनभित्रै पनि मतभेद र असन्तुष्टि देखापरेको छ। राजनीतिक वृत्तमा एक प्रकारको अन्योल सिर्जना भएको छ। विचारहीन र अराजनीतिक सत्ता गठबन्धन बनेको हुँदा मुलुकमा राजनीतिक स्थिरता कायम हुने होइन, बरु अस्थिरताको खतरा बढेको छ।’

मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको र समाजवादी कार्यदिशा अगालेका शक्तिहरूविरुद्ध प्रहार भइरहेको नेकपा एसको विश्लेषण छ। मुलुकको आर्थिक अवस्था झनै संकटग्रस्त हुँदै गएको र राजनीतिक क्षेत्र एक प्रकारको अनिश्चयात्मक परिस्थितिबाट गुज्रिरहेको दाबी प्रतिवेदनमा गरिएको छ। प्रतिवेदनमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानप्रति सर्वाेपरि रूपमा ध्यान दिनुपर्ने, सन्तुलित परराष्ट्रनीति लिनुपर्ने र नेपाल कुने पनि शक्तिको खेल मैदान नबनोस्, संविधानको रक्षा, परिपालना र संघीयता कार्यान्वयन हुनुपर्ने, सुशासनको सुनिश्चितता हुनुपर्नेसहितका १५ बुँदाका आधारमा पार्टीले विश्वासको मत दिएको उल्लेख छ। कांग्रेसले पनि सहमतिकै आशयले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको नेपालले बताएका छन्। ‘मुलुकलाई सहमतिको मार्गमा डो¥याउने कि नडो¥याउने भन्ने जिम्मा अब नेकपा माओवादी केन्द्र र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा छ,’ प्रतिवेदनमा लेखिएको छ।  

अध्यक्ष नेपालले युक्रेन–रुस युद्ध गम्भीर मोडमा पुगेको जनाउँदै उत्तर एटलान्टिक सन्धिमा आबद्ध केही राष्ट्र पनि यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न हुन खोजिरहँदा युद्ध अभैm ध्वंसात्मक हुने सम्भावना बढ्दै गएको प्रतिवेदनमा उल्लेख गरेका छन्। युद्धबाट युरोपेली क्षेत्रमा मात्रै होइन, विश्वभरि नै गम्भीर नकारात्मक प्रभाव पर्ने, विश्व शक्ति सन्तुलनमा हलचल आउने र आर्थिक विकासमा बाधा पुग्ने विश्लेषण प्रतिवेदनमा गरिएको छ। ‘खाद्यान्नको अभाव, महँगी, विश्व व्यापारमा गिरावट, इन्धनको मूल्यमा वृद्धि तथा विश्वमा आर्थिक मन्दी पैदा हुने स्थिति देखिएको छ,’ अध्यक्ष नेपालले प्रतिवेदनमा लेखेका छन्। निर्वाचनमा पार्टीको अपेक्षित मत नआउनुमा विभिन्न कारण औंल्याएको प्रतिवेदनले संगठन निर्माणमा जोड दिएको छ। प्रतिवेदनमा संगठन परिचालन र सुदृढीकरणका विभिन्न कार्यक्रम प्रस्ताव गरिएको छ।

नेकपा एसको नजरमा अन्य दल  

प्रतिवेदनमा अध्यक्ष नेपालले मुलुकमा क्रियाशील नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नाउपा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चाबारे पार्टीको दृष्टिकोण प्रस्तुत गरेका छन्।  

नेपाली कांग्रेस: पुँजीपति वर्ग चरित्र

प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका रूपमा रहेको नेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको हो। नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ। तर पनि यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ।

एमाले: दक्षिणपन्थी अवसरवादी

प्रतिनिधिसभामा दोस्रो ठुलो दल एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट हो। यसको वर्ग अडान स्पष्ट छैन। दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ। यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन। विगतको व्यवहार हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन।

माओवादी केन्द्र: ढुलुमुले प्रवृत्ति

प्रतिनिधिसभामा तेस्रो ठुलो दल माओवादी केन्द्र ढुलमुले चरित्रको कम्युनिस्ट हो। यसको पनि वर्ग अडान स्पष्ट छैन। सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्तिप्रक्रिया लम्बिँदै गएपछि सत्तावरिपरि केन्द्रित हुँदै गएको छ। यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ। तर यो पार्टीमा सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति छ।

रास्वपा: विचार र कार्यदिशाविहीन

प्रतिनिधिसभामा चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पँुजीपति वर्ग चरित्रको हो। यो पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन। संविधानवादको कुरा गरे पनि गणतन्त्र र संघीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन। यो पार्टी प्रतिनिधिसभा विघटन र तत्कालीन नेकपा विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्ता नारा दिएर उदाएको हो। सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्छ। रास्वपाले पनि त्यही भूमिका निर्वाह गर्दैछ।

राप्रपा: लम्पट चिन्तनको प्रतिनिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल नोकरशाही पँुजीपति वर्ग चरित्रको हो। यो पार्टी समाजमा अवशेषको रूपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो। यो संविधान, गणतन्त्र र संघीयता विरोधी पार्टी हो। यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनस्र्थापना गर्न चाहन्छ।

जसपा: मध्यम वर्गको प्रतिनिधि

जनता समाजवादी पार्टीले प्रजातान्त्रिक साजवादी सिद्धान्त आगालेको छ। मुख्यतः मधेस प्रदेशमा प्रभाव राख्ने यो पार्टी मधेसमा मध्यम वर्गीय तप्काको प्रतिनिधि हो। यो संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध छ।

जनमत पार्टी: गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध

जनमत पार्टी विगतमा मधेसलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनुपर्छ भन्ने पृथकतावादी सोच आगालेको पार्टी हो। तर अहिले संविधान मान्ने र त्यसअन्तर्गत रहेर राजनीति गर्नेगरी अगाडि बढेको छ। यो पार्टी गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध छ।

लोसपा: बुर्जुवा चरित्र

लोकतान्त्रिक समाजवादी पार्टी बुर्जुवा चरित्रको हो। मुख्यगरी मधेस प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टी पनि मधेसमा मध्यम वर्गीय तप्काको प्रतिनिधि हो। यो गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध छ।

नाउपा: वर्ग चरित्र अस्पष्ट

नागरिक उन्मुक्ति पार्टीले जातीय पहिचान र अधिकारमा जोड दिन्छ। यो पार्टी थारु जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर संगठित एवं क्रियाशील छ। यसको वर्ग चरित्र स्पष्ट छैन।

नेमकिपा: जडसूत्रवादी र संकीर्ण

नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवं अत्यन्त संकीर्ण चरित्रको कम्युनिस्ट हो। यो पार्टी मूलतः श्रमजीवी वर्गको पक्षमा उभिन्छ तर नेतृत्वमा रहेको निम्नमध्यम वर्गीय जडता र संकीर्णताले गर्दा निरन्तर खुम्चिँदै गएको छ। भक्तपुर जिल्लामा सीमित यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध नै छ।

राजमो: संघीयतोविरोधी

राष्ट्रिय जनमोर्चा नेकपा (मसाल) को खुला राजनीतिक संगठन हो। यो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध तर संघीयता विरोधी पार्टी हो।

नेकपा एस: श्रमजीवीको सच्चा प्रतिनिधि

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपाली श्रमजीवी वर्गको सच्चा प्रतिनिधि हो।

प्रकाशित: २२ माघ २०७९ ००:३५ आइतबार

नेकपा एकीकृत समाजवादी