राजनीति

बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौँ: खानेपानीमन्त्री

खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन्।

आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षणका लागि पुगेका उनले आयोजना नियमित सञ्चालनका लागि लाग्ने खर्च र प्राविधिक कुराबारे आवश्यक छलफल गरी फास्टट्रयाकमा काम गरिने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री खाँनले नीतिगत समस्यालाई हल गर्दै कर्मचारीको समस्यालाई पनि सम्बोधन गरिने बताए। सोही क्रममा उनले स्थनीयवासीले उठाएका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गरिने विश्वास दिलाए।

बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ। आयोजनाको मुहानस्थलमा निर्माण भएको पक्की संरचना बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोलहाउस पुरिनुका साथै निर्माण सामग्री र निर्माण उपकरण र कन्ट्रयाक्टर लेबर क्याम्पसमेत बगाएको थियो।

प्रकाशित: २१ माघ २०७९ १६:०४ शनिबार

खानेपानीमन्त्री अब्दुल खाँन