राजनीति

मधेस प्रदेश सरकारमा रौतहटबाट चार मन्त्री

मधेस प्रदेशमा पहिलो चोटि रौतहटले चार मन्त्री पाएको छ। मधेस प्रदेशसभा गठन भएको पहिलो कार्यकालमा राज्यमन्त्रीबाहेक एक जना पनि मन्त्री नपाएको रौतहटले नयाँ प्रदेश सभामा पहिलो सरकारमै दुई राज्यमन्त्रीसहित चार मन्त्री पाएको छ।

रौतहटबाट विभिन्न तिन दलबाट दुई जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा रौतहटबाट मन्त्री र राज्यमन्त्री गरी चार जना मन्त्री बन्न सफल भएका हुन्।

मधेस प्रदेश सरकारमा जनमत पार्टीका सांसद वसन्त कुशवाहा कृषि मन्त्री र नेकपा एमालेका मोहमद जयद आलम महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बनेका छन्। यसै गरी जसपा नेपालका शेख अब्बुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री र स्वतन्त्रबाट चुनाव जितेर नेकपा एमालेमा प्रवेश गर्दै केशव राय चौधरी गृह तथा सञ्चार राज्यमन्त्री बनेका छन्।

पूर्व मुख्यमन्त्री शेख लालबाबुको पाँच वर्षे कार्यकालमा रौतहटबाट विभिन्न समयमा तिन राज्यमन्त्री मात्र हुन पाएका थिए।

मधेस प्रदेशमै मानव विकास सूचकांकमा सबैभन्दा पछाडि परेको रौतहटमा मधेस प्रदेश सरकारले निरन्तर सबै जिल्लाभन्दा कम बजेट दिँदै आएको थियो। मधेस प्रदेश सरकारमा रौतहटको पहुँच नहुँदा निरन्तर कम बजेट आएको रौतहटबाट अब दुई क्याबिनेटसहित चार जना मन्त्री भएपछि रौतहटको विकासले पनि गति लिने विश्वास लिइएको छ।

चार संसदीय निर्वाचन क्षेत्र रहेको रौतहटमा तिन निर्वाचन क्षेत्रबाट मधेस सरकारमा पहुँच पुगेको छ।संघीय सरकारमा रौतहटबाट मन्त्री वा राज्यमन्त्री नहुँदा प्रदेश सरकारमा चार जना मन्त्री नियुक्त भएपछि भरपाई भएको जिल्लाबासीको भनाइ छ।  

प्रकाशित: २१ माघ २०७९ १३:०० शनिबार

मधेस प्रदेश