प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण भएको बताएका छन्।
आदिवासी जनजाति आयोगको दोस्रो स्थापना दिवस तथा ‘आदिवासी जनजाति अध्ययन’ सार्वजनिकीकरण कार्यक्रमका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै वर्ग, जाति र समुदायलाई समान अवसर तथा प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने बताए।
'अहिले आर्थिक चुनौती छन्, त्यसलाई सही बाटोमा लैजानु छ, समतामूलक समाजको निर्माण गर्नुपर्ने छ। राष्ट्रिय एकताको आधार पनि यही नै हो', उनले भने' 'उत्पीडितको एकताले मात्र देशको रक्षाका साथै जनताको अधिकारको पनि रक्षा गर्न सकिन्छ।'
प्रधानमन्त्री दाहालले उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी रहेको उल्लेख गरे। राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिने उनको भनाइ थियो।
आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो सङ्घर्षबाट प्राप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, 'हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ। छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिमलगायत आयोग बनाउने निष्कर्षमा पुगेका हौँ।'
प्रधानमन्त्री दाहालले राज्यका सबै अङ्गमा समावेशी प्रतिनिधित्व पूर्ण नभए पनि सन्तोषजनक भएको बताए।
प्रकाशित: २१ माघ २०७९ ०९:२९ शनिबार