राजनीति

गण्डकीमा विनियोजन ऐन संशोधन गरिंदै

गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभा समक्ष प्रस्तुत गरेकी हुन्। प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशाधनको प्रक्रिया अगाडि बढाएको हो। बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत पुँजीगत खर्च वृद्धि गर्ने सरकारको लक्ष्य छ।

विनियोजन ऐन संशोधन विधेयकमाथि आउँदो मंगलबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ। शुक्रबारको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले विकास निर्माण र जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदेशसभा सदस्य लिलबहादुर थापाले प्रदेशको स्वायत्त अधिकारलाई स्थापित गर्नुपर्ने बताए। उनले समृद्ध गण्डकीको लक्ष्य पूरा गर्न साझा योजना र संकल्प चाहिने बताए।

अर्का सदस्य पद्मा जिसीले नवलपुरका किसानले मल, बीउ र सिंचाइ सुविधा नपाएकोबारे सरकारको ध्यानाकर्षण गराए। उनले पछिल्लो समय बढ्दो मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विशेष योजना ल्याउनुपर्ने बताए।

प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलले स्याङ्जाका किसानले चिस्यान केन्द्रमा राखेको दुई सय ९३ टन सुन्तला कुहिएकाले उचित क्षतिपूर्ति दिइनुपर्ने माग राखे।

प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकारले पहल लिनुपर्ने उल्लेख गरे।

अर्का सदस्य हरिबहादुर भण्डारीले पटक-पटक म्याद थप हुँदा पनि म्याग्दी जिल्ला अस्पताल भवन निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। प्रदेशसभा सदस्य विन्दु अधिकारी पहाडीले एकल महिलालाई आत्मनिर्भर बनाउन सीप र प्रविधि दिनुपर्ने बताइन्।

प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले प्रदेश संरचनाको औचित्यमाथि उठेको प्रश्नको भरोसायोग्य जवाफ दिनुपर्ने बताए। उनले प्रदेशसभाको पहिलो कार्यकालमा भएका कामकारबाहीबारे श्वेतपत्र जारी गर्नुपर्ने बताए।

बैठकमा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा, टकराज गुरुङ, श्यामराजा महत, सरस्वती गुरुङ, लक्ष्मण पाण्डे, महेश भट्टराई, भोजराज अर्याल, भक्त कुँवर, दिलमाया पौवी, दयमन्ती रुचाल, गोविन्दबहादुर नेपाली, कृष्णप्रसाद पाठक लगायतले बोलेका थिए। प्रदेशसभाको अर्को बैठक आउँदो मंगलबार दिनको १ बजे बस्नेछ। रासस

प्रकाशित: २१ माघ २०७९ ०५:४४ शनिबार

गण्डकी प्रदेश