राजनीति

कर्णालीको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का

कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखको महावु गाउँपालिका–३ का नरबहादुर खड्का नियुक्त भएका छन्।

मुख्यमन्त्री राजकुमार शर्माले नेपालको संविधान, २०७२ को धारा १६० बमोजिम खड्कालाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरियोस् भनी बिहीबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेका थिए। खड्कालाई प्रदेश प्रमुख परियारले आज मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

खड्कालाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। सर्वोच्च अदालत बार एशोसियसनको सदस्यका रुपमा काम गर्दै आएका नवनियुक्त मुख्य न्यायाधिवक्ता खड्काले व्यवस्थापन र कानुनमा स्नातकोत्तर तह अध्ययन गरेका छन्।

प्रकाशित: २० माघ २०७९ १६:३० शुक्रबार