राजनीति

जनताको हार कहिल्यै भएको छैनः प्रभु साह

आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले  जनताको हार कहिल्यै नभएको बताएका छन्। शुक्रबार आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला स्तरीय भेलामा सम्बोधन गर्दै पार्टी अध्यक्ष साहले जनताले जहिले पनि क्रान्तिमार्फत परिवर्तन ल्याएको बताएका हुन्।

परिवर्तन ल्याउने जनताको कहिल्यै हार नभएको बताउँदै आम जनताले आन्दोलन गरी लोकतन्त्र ल्याएकोमा अहिले लुटतन्त्रमा परिणत भएको पनि बताएका छन्।

पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र सांसद समेत रहेका नेता साहले वर्तमान अवस्थामा किसानले किसान, मजदुर तथा आम नागरिकको अगाडि निकै समस्या भएको र केही मानिसले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्।

देशमा आम जनताको पक्षमा काम गर्ने दल तथा नेताको अभाव रहेको अवस्थामा आम जनताको समस्यालाई सम्बोधन गर्न दलको गठन गरेको बताएका छन्।

विगतमा पनि जनताले साथ दिएको बताउँदै नेता साहले अब जनताको दल निर्माण भइरहेकोले आम जनताले नै अगाडि बढेर साथ दिने स्पष्ट पारेका छन्। आम जनताको पार्टी निर्माण अहिलेको आवश्यकता रहेकोले सबै नागरिक गोलबन्द हुनुपर्ने विचार साहले राखेका छन्।

अहिलेको संवैधानिक व्यवस्थाले गर्दा कुनै पनि दलको बहुमत नआउने र देशमा सधैँ अस्थिरता रहने बताउँदै नेता साहले देशमा दलको शासन बन्न पुगेको र आम जनताको शासन आउन नसकेको पनि आरोप लगाएका छन्।

जिल्ला भेलामा आजपा नेता त्रिभुवन साहले आम किसान मोर्चा, विद्यार्थी मोर्चा, मजदुर मोर्चा, शिक्षक मोर्चा, महिला तथा मुस्लिम मोर्चाको जिल्ला समितिको पनि घोषणा गरेका छन्।

प्रकाशित: २० माघ २०७९ १३:०५ शुक्रबार

आम जनता पार्टी प्रभु साह