राजनीति

आरोपीका मुहारचित्र आफैँ बनाउँदै प्रहरी

काठमाडौं- २०७१ फागुन १० गते काठमाडौं, वसन्तपुरमा ट्युसन पढ्न गएका दुई युवतीलाई एसिड छ्यापेर एक व्यक्ति फरार भए। घटनाको तीन दिनपछि प्रहरीले प्रत्यक्षदर्शीको बयानका आधारमा आरोपीको स्केच बनाएर खोजी तीव्र पार्‍यो। तर, चैतमा पक्राउ परेका आरोपी र प्रहरीले बनाएको स्केचमा कुनै मेल खाएन।

२०६८ असोज ९ गते महानगरीय प्रहरी आयुक्त कार्यालयछेवैको घन्टाघर क्षेत्रमा दिनदहाडै दुई अज्ञात बन्दुकधारीले इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको गोली हानेर हत्या गरे। राजधानीको व्यस्त बजारमा पाँच मिनेटभन्दा कम समयमा  फैजानको हत्या गरेर फरार भएका आरोपीबारे प्रहरी हालसम्म अनभिज्ञ छ।

तर, घटनाका साक्षीको बयानका आधारमा प्रहरीले तयार पारेको मुखाकृति अझै फाइलमा सुरक्षित छ। कुनै बन्दुकधारी पक्राउ परे प्रहरी अझै फैजान हत्याकाण्डको फाइल खोल्छ। स्केचमा भएको अनुहार र पक्राउ परेका आरोपीको अनुहारसँग मिलाउन खोज्छ।

यी दुई घटनामा मात्र होइन, केन्द्रीय कारागारमा रहेका समय जाली भारतीय नोटका कारोबारी युनुस अन्सारीमाथि गोली प्रहार गर्ने अभियुक्तको बयानका आधारमा उसका सहयोगी र सञ्चार उद्यमी जमिम साहको हत्यामा संलग्न अभियुक्तलाई पनि प्रहरीले स्केच बनाएरै खोजिरहेको छ। सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम, रानीबारी हत्याकाण्ड, नेपालगञ्जका सुन व्यवसायी दीपक हेमकार हत्याकाण्डदेखि फादर ग्याफ्नेसम्मका हत्याकाण्डमा प्रहरीले स्केचका आधारमा अभियुक्तको खोजी तीव्र बनाए पनि पक्राउ परेका अभियुक्त र स्केचमा कुनै मेल खान सकेन।

कारण थियो– प्रहरीसँग साक्षीको बयानका आधारमा दुरुस्त स्केच बनाउने दक्ष जनशक्ति अभाव। अपराध अनुसन्धानको मुख्य अंग मानिएको स्केच बनाउन प्रहरी अब चित्रकारको भर नपर्ने भएको छ। प्रहरीको अपराध अनुसन्धान विभाग (सिआइडी) ले १५ जना हवल्दार र जवानलाई चित्राकृति आधारभूत तालिम दिएको छ।

अपराधको पारो सधैं उच्च रहने काठमाडौंमा स्केच बनाउने जनशक्ति जम्मा दुईजना रहेको भन्दै प्रहरीले एकैपटक १५ जनालाई तालिम दिएको हो। सिआइडी तीनवर्षे रणनीतिअनुसार निर्माण भएको पाठयक्रमबमोजिम अनुभवी प्राविधिकले २९ दिन लामो तालिम दिएका हुन्। गम्भीर घटनामा संलग्न रहे पनि प्रहरीको फन्दाबाट उम्किएका अभियुक्तलाई पक्रन प्रहरीलाई अब सहज हुने भएको छ।

विभागका प्रमुख अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले शून्यबाट सुरुवात हुने अपराध अनुसन्धानमा स्केचले ठूलो सहयोग पुग्ने बताए। उनका अनुसार साक्षीको आधारमा तयार गरिने स्केच र घटनास्थलको विवरणले अपराध अनुसन्धान र घटनाका दोषीसम्म पुग्न प्रहरीलाई ठूलो सहयोग पुग्ने छ।

'घटनामा संलग्नका विषयमा र उसको हुलियाका विषयमा अनभिज्ञ रहेर अनुसन्धान गर्नुपर्ने बाध्यता हट्ने विश्वास लिएका छौं, केही अधिकारीबाहेक अन्यले स्केच बनाउन पहल नगर्नुको कारण जनशक्ति नहुनु नै थियो,' एआइजी शर्माले नागरिकसँग भने।

विभागले पहिलो चरणमा तालिम लिएका १५ मध्ये केहीलाई उपत्यकामै राखेर अन्यलाई अनुसन्धानको नियमन निकाय तोकिएको अञ्चल प्रहरी कार्यालय र मुख्य जिल्ला प्रहरी कार्यालयमा पठाउने भएको छ। तालिमको संयोजक एसपी वसन्त लामाका अनुसार ललितकला क्याम्पसका प्राध्यापक र प्रशिक्षकले व्यक्तिले बयान गरेको वस्तुस्थिति र हुलियाका आधारमा चित्राकृति र मुखाकृति बनाउन प्रशिक्षकले सिकाएका थिए।

'हामीले केही फरार अभियुक्तको हुलियाका आधारमा स्केच बनाउन लगाएका थियांै, दुरुस्त बनाएका छन्,' एसपी लामाले भने। उनले दोस्रो समूहका लागि समेत तालिम चाँडै आयोजना हुनेछ। 'कम्तीमा अपराध अनुसन्धान हुने मुख्य निकायमा एकजना चित्रकार अनिवार्य रहोस् भन्ने रणनीतिअनुसार काम भइरहेको छ,' लामाले थपे।

प्रशिक्षक रहेका वरिष्ठ कलाकार केके कर्माचार्यले तालिमले प्रहरीमा अपराध अनुसन्धान गर्न दक्ष जनशक्ति निर्माण हुने बताए। उनले चित्राकृति र मुखाकृतिको महŒवका विषयमा विविध जानकारी दिएको विभागले जनाएको छ। साउन ९ गतेबाट सञ्चालित उक्त तालिममा प्रहरी हवल्दार ३ जना र जवान १२ जना गरी १५ प्रशिक्षार्थीको सहभागिता थियो। तालिम साउन ९ गते सुरु भई भदौ ७ गते सकिएको हो।

फोटो :  अपराध अनुसन्धान विभागबाट तालिम लिएका प्रहरीले व्यक्तिको बयानका आधारमा बनाएका मुखाकृति (श्यामश्वेत)। फैजान हत्यापछि प्रहरीले सार्वजनिक गरेको स्केच (कलर)। सौजन्य :  अपराध अनुसन्धान विभाग, नेपाल प्रहरी।

प्रकाशित: २३ भाद्र २०७३ ०३:१९ बिहीबार

आरोपीका मुहारचित्र आफैँ बनाउँदै प्रहरी