राजनीति

दाहाल भ्रमणमा पुरानै अजेन्डा

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न भारत भ्रमणमा पुरानै अजेन्डा उठाउने भएका छन्। भदौ ३० गतेबाट सुरु हुने चार दिने भारत भ्रमण तयारीक्रममा बुधबार सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री दाहालले दिल्ली भ्रमणप्रति शंका नगर्न आग्रह गर्दै पुरानै अजेन्डा अघि बढाउने बताएका हुन्।

बुधबार दिउँसो पूर्वपरराष्ट्रमन्त्री, पूर्वसचिव, पूर्वराजदूतसँगको छलफलमा प्रधानमन्त्री दाहालले भने, 'हामीले पनि नयाँ कुरा हुने अपेक्षा लिएका छैनौं। भारतमा पनि त्यस्तो अपेक्षा छैन।'

प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै उनका परराष्ट्र मामिला सल्लाहकार ऋषिराज अधिकारीले भने, ‘भारतसँग यसअघि सम्झौता भएर कार्यान्वयन सुरु नै नभएको र पूरै कार्यान्वयन हुन नसकेका विषय नै कार्यान्वयन गर्न सके ठूलो उपलब्धि हुनेछ। दुवै देशबीच विश्वासका वातावरणलाई अघि मजबुत बनाउने कोसिस हुनेछ।'

प्रधानमन्त्रीको भ्रमण अजेन्डामा विद्युत व्यापार सम्झौता कार्यान्वयन, हुलाकी राजमार्ग निर्माण, भूकम्पपीडितलाई सहयोग, गौरीफन्टा नाका स्तरोन्नति, प्रहरी एकेडेमी, जलविद्युत आयोजनाको निर्माणसहितका विषय रहेका छन्।

प्रकाशचन्द्र लोहनी, रमेशनाथ पाण्डे, नीलाम्बर आचार्य, भेषबहादुर थापा, सूर्यनाथ उपाध्याय, राजन भट्टराई, दुर्गेशमान सिंह, दिनेशचन्द्र भट्टराई, केदारभक्त माथेमा, लोकराज बराल, जयराज आचार्यलगायत व्यक्ति सिंहदरबार पुगेका थिए। बैठकमा बोल्ने अधिकांश सदस्यले भारतसँग देखिएको असमझदारी हटाउन प्रयास हुनुपर्ने बताएका थिए।

बैठकका प्रवुद्ध समूहका सदस्य राजन भट्टराईले असमझदारी बढाउने काम कोबाट भयो, त्यसबारे स्पष्ट भएपछि मात्रै अघि बढ्न सकिने बताएका थिए। 'असहमझदारी छ भने त्यो के हो र कसको कारण उत्पन्न भयो भनेर भन्नुपर्‍यो, अनि समाधानको उपाय खोज्न सजिलो हुन्छ,' भट्टराईले भने।

 

प्रकाशित: २३ भाद्र २०७३ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App