राजनीति

सत्र महिनामा तीनवटा निर्वाचन चुनौतीपूर्ण : नेता सिंह

काठमाडौँ-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १७ महिनाभित्र तीनवटै निकायको निर्वाचन गराउनु अत्यन्तै चुनौतीपूर्ण हुने बताएका छन्।

‘डोको नेपाल’ नामक संस्थाले आज बुद्धनगरमा आयोजना गरेको ‘शैक्षिक सम्मान कार्यक्रम’मा बोल्दै नेता सिंहले छोटो समयमा धेरै निर्वाचन गराउनुपरेकाले दलहरुबीच एकताको आवश्यकता रहेको बताए। उनले भने– “सीमाङ्कनमा देखिएका समस्यालाई राजनीतिक दलका नेता बसेर चाँडो समाधान गर्नुपर्छ ।”

नेता सिंहले मधेसका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे। उनले संविधान कार्यान्वयनमा जुट्न सबै राजनीतिक दललाई आग्रहसमेत गरे।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका सिंहले संविधान कार्यान्वयन गरी मुलुकलाई विकासको बाटोमा लैजानु अहिलेको आवश्यकता रहेको स्पष्ट पारे।

उनले शिक्षा जनताको अपेक्षाअनुरुप हुन नसकेको भन्दै शिक्षालाई समयानुकूल परिमार्जन गर्दे लैजानुपर्नेमा जोड दिए। रासस

 

प्रकाशित: १८ भाद्र २०७३ १३:५३ शनिबार

सत्र महिनामा तीनवटा निर्वाचन चुनौतीपूर्ण नेता सिंह