राजनीति

‘मनोमानी’ले एक्लिँदै मेयर साह

काठमाडौं महानगरपालिकाले निजी सम्पत्तिमा जथाभावी डोजर चलाएको भन्दै मेयर बालेन साहको विरोधमा माइतीघरमा आइतबार आयोजित विरोध र्‍याली। फाइल तस्बिर: नागरिक

नेतृत्व गर्न चाहनेले समूहभन्दा अगाडि होइन, समूहसँगै हिँड्न जान्नुपर्छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जनताको समूहभन्दा धेरै अगाडि हिँड्न खोज्दा एक्लिन थालेका छन्। ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै चुनाव जितेका मेयरले सहरमा ‘गरिबलाई टिक्न नसक्ने’ वातावरण बनाउन थालेको गुनासो बढेको छ।

‘महानगरको सौन्दर्य भनेको सडक किनारमा फक्रिएका फूलका थुँगा मात्र होइनन्, जीविका चलाउँदै आएकाको मुहारमा फक्रने मुस्कान पनि हो,’ सहरी गरिबको क्षेत्रमा काम गर्दै आएका ओम थपलिया भन्छन्, ‘पछिल्लो समय ठेलामा साग बेच्नेदेखि दरबारमार्गमा स्यान्डविच बेच्नेसम्मको अनुहार ओइलाएको छ।’

अझ पछिल्लो समय दरबारमार्गमा पार्किङ हटाएसँगै मेयर साह ‘इलिटवर्ग’ को पनि निसानामा परेको थपलिया बताउँछन्। ‘सधैं गुलजार रहने दरबारमार्ग विकल्प नदिई पार्किङ हटाउँदा बजार सुनसान बनेको छ,’ उनले भने, ‘एक्लै अगाडि बढ्न खोज्दा समाधान होइन समस्या निम्तिन्छ।’ निर्वाचनमा भित्री सहर र बाहिरी सहर दुवैबाट उल्लेख्य मत पाएका मेयर साहले यतिबेला दुवैतिरको साथ पाउन छाडेका छन्।

राजधानीभन्दा बाहिरबाट आएर वाग्मतीकिनारमा बसेका सुकुम्बासीलाई हटाउन ‘कोरसिटी’ का स्थानीयको साथ पाएका मेयर साहले उनीहरूको निजी जमिनमा समेत गैरकानुनी ढंगले डोजर चलाउँदा असन्तुष्टि बढेको छ। उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अगुवाइमा आइतबार काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको थियो।

प्रदर्शनका क्रममा उनीहरूले जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई चेतावनीसमेत दिए। ‘जनताको प्रतिनिधि भएर जनतालाई दुःख दिने मेयर साहको काम सह्य हुनेछैन,’ सुमन साय्मिले भने, ‘नागरिकको सम्पत्तिको अधिकारमाथिसमेत हनन हुने गरी डोजर आतंक फैलाउने काम तत्काल रोक्नुपर्छ।’ सुमन साय्मि तिनै हुन्, जो मेयरमा साहसँग पराजित भएर पनि विजयोत्सवमा सँगै हिँडेका थिए। ‘त्यतिबेला साहले जनताको आवाज उठाएकाले आफू पराजित भए पनि उनको विजयमा खुसी भएको थिएँ,’ साय्मिले भने, ‘तर अहिले मेयर सबैलाई निराश पार्दैछन्।’

सडक विस्तार पीडित संघर्ष समितिका नेता साय्मिले मेयर साह पहिलेका शासकभन्दा पनि निरंकुश भएको आरोप लगाए। ‘पहिला कसैको पनि निजी जग्गा सडक विस्तारका लागि लिनपरे सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो,’ साय्मिले भने, ‘अहिले न सूचना न मार्किङ, एकैपटक डोजर आउने गरेको छ।’

न्यायको ढोकासमेत ढकढक्याउन नपाउनेगरी गरिएको यो आक्रमण आफूहरूले नसहने उनले बताए। स्वतन्त्र उम्मेदवारका रूपमा उठेर मेयरमा निर्वाचित साहप्रति जनआक्रोश एकै पटक पैदा भएको होइन। मेयरमा निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा साहले सामाजिक सञ्जालमार्फत सो कार्यकाललाई ६ बुँदामा प्रस्तुत गरेका थिए। ‘हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत भएर काम गर्‍यौं,’ साहले लेखेका थिए, ‘मानिसमा सकारात्मक ऊर्जा र परिवर्तनको महसुस भएमा मात्र कामले नतिजा दिएको महसुस हुन्छ।’ उनले यसो भन्दै गर्दा धेरैमा आशा पलाएको पनि थियो।

तर त्यसपछिका दिनमा उनले गर्दै आएका कार्यले जनतामा सकारात्मक ऊर्जा दिन सकेन। सुरुवाती दिनमा आशाका केही किरण देखाएका साहले सडककिनारका अनधिकृत संरचना भत्काउने तर नबनाउँदा सहरवासी निराश हुन थालेका छन्। मनोसामाजिक परामर्शदाता डा. नम्रता पाण्डे समस्या व्यवस्थापनको विकल्प नदिई अगाडि बढ्न खोज्दा मेयर साह स्वयं समस्यामा पर्न थालेको बताउँछिन्। ‘सुरुमा राजधानीको फोहोरदेखि ट्राफिक व्यवस्थापनसम्ममा उनले देखाएको सक्रियताले जनतामा आशा जगाएको थियो,’ पाण्डे भन्छिन्, ‘तर टुकुचालाई खोतलेर अलपत्र पार्ने, सुकुम्वासीलाई विकल्प नदिई बलजफ्ती उठाउन खोज्ने जस्ता प्रवृत्तिले निराशा पैदा गर्न थालेको छ।’

चुनावताका सबैको प्रशंसा बटुलेका साहप्रतिको आक्रोश सबैभन्दा पहिला सडक किनारमा मकै बेचिरहेकी महिलामाथि नगर प्रहरी जाइलागेपछि पैदा भएको थियो। यो गत असार पहिलो साताको घटना हो। ‘फुटपाथ र सडक अतिक्रमण गरेर व्यापार गर्न नपाइने’ महानगरको नियमको पालना गराउन भन्दै नगर प्रहरीले ती महिलाले बेचिरहेको हरियो मकैसहितको ठेला उठाएर गाडीमा हालेको दृश्यले धेरैको मन कुँडियो। ‘महानगरको त्यो कदमले सयौं श्रमिकको रोजीरोटी मात्र होइन, उनीहरूको अनुहारको खुसी पनि खोसियो,’ सहरी गरिबको क्षेत्रमा काम गर्दै आएका थपलिया भन्छन्, ‘मेयरको मनोमानीले सहरको जनजीविका खलबलिएको छ।’

मेयरलाई धेरैले आफ्नो काममा सुधार ल्याउन न सुझाएका पनि होइनन्। पत्रकारसँग टाढिएका मेयर साहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्ने गरे पनि त्यसले सबैको चित्त बुझ्न सकेको छैन। सामाजिक सञ्जालमा उनले पस्किने सामग्री पढ्दा आलोचना सुन्न नचाहेको बुझिन्छ।

संवैधानिक र मानवअधिकार कानुनको क्षेत्रमा क्रियाशील अधिवक्ता राजुप्रसाद चापागाईं पनि थपलियाको भनाइसँग सहमत छन्। ‘राज्यको अभिन्न अंगका रूपमा महानगरपालिका सरकारले हाम्रो समाजमा बहुआयामिक गरिबी विद्यमान रहेको सत्य आत्मसात् गर्नु अत्यन्तै जरुरी छ,’ नागरिक दैनिक मार्फत मेयर साहलाई खुलापत्र लेख्दै चापागाईंले भनेका छन्, ‘सहरमा ट्राफिक समस्या सिर्जना गर्ने उद्देश्यले विपन्न परिवार सडकमा व्यापार गर्न आएका होइनन्। चरम गरिबीको चपेटामा परेको अवस्थामा आफ्ना आधारभूत आवश्यकता पूरा गर्ने अपरिहार्य रणनीतिक उपायका रूपमा उनीहरूले यसो गरिरहेका छन्।’

२०७९ जेठ १२ गते काठमाडौंको मेयरमा साह विजयी भएको घोषणा हुँदा सबै तहका जनताले हार्दिकताका साथ खुसियाली मनाएको सम्झँदै चापागाईंले त्यो विजयबाट देशविदेशमा रहेका नेपालीले ठूलो आशा राखेको बताए। मेयर साहले पदभार ग्रहण गरेपछि कार्यपालिका बैठकमा मिडियालाई पहुँच दिएर, फोहोर व्यवस्थापनमा ध्यान दिएर, भौतिक पूर्वाधार मर्मतसम्बन्धी समस्यालाई सम्बोधन गरेर जनतामा आशा जगाए पनि पछिल्ला गतिविधि निराशाजनक रहेको चापागाईंले बताए।

‘टुकुचा खोलालाई प्राकृतिक रूपमा पुनर्जीवित गर्ने तपाईंको मनसाय आफैंमा गलत थिएन। तर जय नेपाल सिनेमा हलको प्रांगणको जग्गा खन्नुपूर्व टुकुचा खोलालाई पुनर्जीवित गर्न मिल्ने/नमिल्ने कुराको निक्र्योल गर्न पुरातत्त्व विभागलगायत सरोकारवालासँग परामर्श गरी यसको धरातलीय यथार्थको गहिरो अध्ययन गरिनु पर्थ्यो,’ चापागाईले खुलापत्रमा लेखेका छन्, ‘काठमाडौंका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बासिन्दाको संयुक्त रूपमा प्रमाणीकरण गर्ने राष्ट्रिय भूमि आयोगसँग गरिएको हस्ताक्षरविपरीत थापाथली क्षेत्रका सुकुम्बासीको बासस्थान डोजर प्रयोग गरी भत्काउन महानगरीय प्रहरी प्रशासनलाई परिचालन गर्नु दुखद थियो।’

सहरको मौलिकता जोगाउने भन्दै वााग्मती नदीकिनारका सुकुम्बासी हटाउन आतुर मेयर साहलाई खुला मञ्चमा भूमिगत पार्किङ बनाउने योजनाले झनै विवादमा तान्यो। खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै अभियन्ताले दबाबमूलक अभियान चलाइरहेका छन्। दुई साताअगाडि महानगरपालिकामा धर्ना दिँदै उनीहरूले ज्ञापनपत्र बुझाउन खोजे। तर मेयर साहले भेट्ने समय दिएनन्। ‘मेयर जनताबाट टाढिएर कता जाँदै छन्,’ साय्मि भन्छन्, ‘मेयरको यही रवैया डरलाग्दो छ।’

‘मैले के बिराएँ?’

‘उहाँ (घरधनी) ले आफ्नै नक्सा मसँग माग्नुभयो,’ भदौको दोस्रो साता नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएपछि मेयर साहले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मैले कार्यालय गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ?’ सामाजिक सञ्जालमा उनले राखेको यो भनाइको निकै तारिफ भयो। साहको तारिफ गर्ने तिनै जनता अहिले उनको विरोधमा उत्रिन थालेका छन्। टुकुचा खोतलेर अलपत्र पारेको, निजी जमिनमा डोजर चलाएको, सुकुमबासी हटाउने हठात् निर्णय गरेको, फुटपाथ पसले र ठेलावालामाथि ज्यादती गरेको, टुँडिखेलमा भूमिगत पार्किङ बनाउन खोेजेको भन्दै मेयर साहको आलोचना भइरहेको हो।

मेयर साहले आफूलाई नसच्याए यसले गम्भीर दुर्घना निम्त्याउन सक्ने कतिपयको बुझाइ छ। ‘अझै बिग्रेको केही छैन,’ मनोसामाजिक परामर्शदाता पाण्डेले भनिन्, ‘अब थप बिग्रिने बाटोमा हिँड्न मेयर साहलाई छुट छैन।’ सहरी गरिबको पक्षमा अभियान चलाउँदै अएका थपलिया पनि ठेलावाल, फुटपाथ पसलेलाई लखेट्नुभन्दा पनि उचित व्यवस्थापन गर्नेतर्फ साहको ध्यान जानुपर्ने बताउँछन्। यसो नभए सडक आन्दोलनले विद्रोहको रूप लिनसक्ने उनको बुझाइ छ। ‘फुटपाथ पसले र ठेला व्यवसायीसँग साँझ–बिहानको खाना र बच्चाको शिक्षादीक्षा जोडिएको हुन्छ,’ उनले भने, ‘यस्ता कुरामा बारम्बार अवरोध आउँदा विरोध मात्र होइन, विद्रोह पनि हुन सक्छ।’ 

प्रकाशित: १८ माघ २०७९ ०१:२१ बुधबार

गैरकानुनी ढंगले डोजर चलाउँदा असन्तुष्टि सडक विस्तार पीडित संघर्ष समिति