राजनीति

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्मः अध्यक्षमा ४ आकांक्षी

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन यही फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ। झण्डै सातबर्षपछि हुन लागेको महाधिवेशनको माहौल तातिरहेको छ। महाधिवेशनपछि अखिलको नेतृत्व गर्नका अहिले मुख्य चार जना आकांक्षी देखिएका छन्। यसअघिका दुई अध्यक्ष मनोनीत भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व चयन हुने भएपछि चार जना आकांक्षी देखिएका हुन्।

२०७२ सालमा अखिलको २२ औँ महाधिवेशन भएको थियो त्यसयता नेकपा (माओवादी केन्द्रंसंग मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अनेरास्ववियूको संयोजक ऐन महर तथा पार्टी अलग भएपछि पुन मनोनीत अध्यक्ष सुनिता बराल बनेकी थिइन। 

अहिले अध्यक्षका आकांक्षीमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री, लोकेश निरौला र महासचिव समिक वडाल देखिएका छन्। अध्यक्षमा यिनै चार  जनाबिच प्रतिस्पर्धा हुने देखिएको छ। लामिछानेलाई उमेर समूह बढी भएको भन्दै बिदा गर्ने पक्षमा अन्य आकांक्षीहरु छन्।

अध्यक्षका आकांक्षी वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले भने,  ‘अध्यक्षका अन्य आकांक्षीहरु मलाई यस अघिनै अध्यक्ष मानेर हिँडेका साथीहरू हुन्। म संगठन भित्रको एकल दाबेदार छु। सबै सदस्यहरूको सर्वसम्मत उम्मेदवार हुँ।’ 

उनले आफूलाई कमिटीका सदस्यहरूले सर्बसमत अध्यक्ष स्विकारी सकेको दाबी गरे। ‘म सर्वमान्य नेता हुँ। विद्यार्थी आन्दोलनलाई एक ढिका बनाएर लैजान मैले मात्र सक्छु । म बाट मात्र सम्भव छ’, लामिछानेले भने । 

उनले आफू विद्यार्थी आन्दोलनबाटै पाको भएको उल्लेख गदै भने, ‘मैले अहिलेसम्म धैर्य र इमानदारिताका साथ काम गर्दै आएको छु। मलाई उमेरको पाको ठान्नु हुन्छ भने म भन्दा ६ महिनाको कम उमेरको साथी पाको हुने म ६ महिना जेठो चाहिँ पाको नहुने भन्ने हुन्छ?’

खत्री  पाटन संयुक्त क्याम्पसको स्ववियु सभापति हुन्। निरौला पनि २०६२ सालमै स्ववियूको उपसभापति भएर संगठनको जिम्मेवारीमा होमिएका थिए। खत्री २०६५ सालमा भएको स्ववियु निर्वाचनमा सभापतिमा निर्वाचित भएका थिए। २०६६ सालमा स्ववियु काउन्सिल सचिव भएर पनि उनले त्रिभुवन विश्वविद्यालयमा काम गरिसकेको छन्। 

‘म अखिल र स्ववियु दुवैमा राम्रो काम गरेको अनुभव रहेको छ,’ खत्रीले भने,“ ‘मलाई पार्टी र साथीहरूको साथ सहयोगले अखिलेको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु।’

उता निरौलाले पनि स्ववियू उपसभापति हुँदै काठमाडौँ क्याम्पस कमिटी अध्यक्ष, केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै अखिलको नेतृत्व सम्हाल्ने तहमा पुगेको बताएका छन्। ‘अहिले भइरहेका साथीहरूको पनि आफ्ना आफ्नो कमिटीमा अब्बल काम गर्नु भएको होला तर उहाँहरूभन्दा  म सिनियर र अनुभवले परिपक्व भएकाले पनि अखिलको नेतृत्वमा मैले जित्ने छु साथीहरूले पनि मलाई साथ दिनुभएको छ’, निरौलाले भने। 

बडाल संगठनमा काम गर्दै महासचिवमा पुगेका हुन। उनको पनि दाबी स्वाभाविक रहेको बताइएको छ। सातबर्षपछि निर्वाचनबाट नेतृत्व चयन हुन गइरहेकोमा खत्री र निरौलाको संगठनमा पनि राम्रो पकड रहेको छ। उनीहरु दुवैले अध्यक्ष पद नछाड्दा त्यसको फाइदा बडालले उठाउने सम्भावना पनि उत्तिकै रहेको छ। 

यही चैत ५ गते देशभरि स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ। स्ववियु निर्वाचन र संगठन हाँक्ने सक्ने नेताका रुपमा चिनिएका खत्री र निरौलालाई समर्थकहरूले एकले अर्कालाई मिलेर जान सुझाव दिएका छन्। उनीहरु अखिलको अध्यक्षमा बलिया दाबेदारका रुपमा रहेका कारण बडाल बाजी मार्न सक्नेतर्फ उनीहरु सचेत रहेका छन्। 

२२ औँ महाधिवेशनमा नवीना लामा निर्वाचित भएयता अखिलमा निर्वाचन भएको छैन। लामा अध्यक्ष बन्दा उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, शैलेश लामा, सुनिता बराल र सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खडका, अमृत बुढा, सुदेश पराजुली, आरती लामा, ओसिम आलम चुनिएका थिए। महासचिवमा ऐन महर निर्वाचित भएका थिए। 

उनीहरूमध्ये धेरै अहिले अखिलको राजनीतिमा छैनन् र कोही विभाजित पार्टीतर्फ लागेका छन्। लामा अध्यक्ष रहेको बेला एमाले र माओवादी एकता भएको थियो।  एकता हुँदा अनेरास्ववियुको संयोजकमा महासचिव ऐन महर भएका थिए।  लामा एमालेको समानुपातिक सांसद भएसँगै संगठनबाट बिदा लिइन्। लामापछि संयोजक बनेका महरले पनि लामो समय संगठनको नेतृत्व गरेनन् उनीपछि बराल भइन।  

लामा अध्यक्ष र महर महासचिव बन्दा उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, शैलेश लामा र सुनिता बराल चुनिएका थिए। उनीहरूले नै महरपछि नेतृत्वको आकांक्षा देखाए। आकांक्षा देखाउनेमा सचिवका आरसी लामिछाने र समिक बडाल पनि थिए। 

तर पार्टीले बराललाई अखिलको अध्यक्ष बनायो। एमाले विभाजित हुँदा सुदेश र आरती एकीकृत समाजवादीमा लागे। महेश बर्तौला अहिले प्रतिनिधिसभा सदस्य छन्। बराल अध्यक्षमा चुनिँदा पनि लामिछाने र बडालले आकांक्षा देखाएका थिए। लामिछानेलाई वरिष्ठ उपाध्यक्ष र बडाललाई महासचिवमा बनाएर मिलाइएको थियो। 

एमालेले २३ मध्ये नौँ वटा जनसंगठनको अधिवेशन चैत मसान्तभित्र सक्ने तयारी गरेको छ।  एमालेले अनेरास्ववियुको महाधिवेशन फागुन २ देखि ४ गते, खेलकुद महासंघको फागुन ७ देखि ९ गते, रिटर्नी फेडरेसनको चैत ११ र १२, आदिवासी जनजाति महासंघको फागुन १७ र १८ गते, पिछडा वर्ग महासंघको चैत २२ र २३ गते, अनेमसंघको चैत २५ र २६ गते, राष्ट्रिय युवा संघको चैत २७ देखि २९ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।

प्रकाशित: १७ माघ २०७९ ०८:५२ मंगलबार

नेकपा (एमाले) अनेरास्ववियु २३ औ राष्ट्रिय महाधिवेशन