राजनीति

कैलाली घटनाका दोषीलाई कारवाही हुन्छः प्रधानमन्त्री

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले गतवर्ष कैलाली जिल्लामा भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ्ने बताएका छन्। निर्दोषलाई दुःख दिने विषय स्वीकार्य नहुने तर आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुने उनले बताए। 

निर्दोषलाई दुःख दिने विषय स्वीकार्य नहुने तर आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुने उनले बताए। 

थारु राष्ट्रिय मुक्ति मोर्चाले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले गृह मन्त्रालयमार्फत तराई–मधेसमा भएको आन्दोलन र क्षतिको विषयमा छानबिन गरिरहेको जानकारी दिए। प्रधानमन्त्रीले अनावश्यक रुपमा दुःख दिने कार्य तत्काल रोक्न समेत आफूले निर्देशन दिइसकेको उनले बताए। संविधानले गरेको व्यवस्थाअनुसार नै राज्यका हरेक निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वका लागि प्रमुख राजनीतिक दलसँगको सहमतिका आधारमा अगाडि बढिने प्रधानमन्त्रीको भनाइ रहेको भेटमा सहभागी नेकपा (माओवादी केन्द्र)का सांसद् मानबहादुर थारुले जानकारी दिए।

मोर्चाले सुकुम्बासी, कमैयाको समस्या समाधान गर्न, समावेशी तथा समावेशी प्रतिनिधित्व लागू गर्न र स्थानीय निकायको पुनःसंरचनाको विषयमा देखिएको विवाद तत्काल समाधान गर्न आग्रह गरेको थियो। 

यस्तै बर्दियाको राजापुर बजार व्यवस्थित गर्न समेत मोर्चाले माग गरेको छ। कालीकोट, अछाम, जुम्ला, जाजरकोटको बजारका रुपमा परिचित राजापुर बजारको स्थायी नाप नक्सा गर्न लामो समयदेखि रोकिएको लालपुर्जा वितरण प्रक्रिया तत्काल सुरु गर्न माग गरिएको मोर्चाका नेता सन्तकुमार चौधरीले बताए। 

सो अवसरमा सांसद अमनलाल मोदी अन्जना चौधरी, दुर्गा खुना र नेता दुर्गाबहादुर चौधरीले आदिवासी थारु समुदायको माग सम्बोधन गर्न र संविधानमा समेटन बाँकी रहेका विषय संशोधनमार्फत अगाडि बढाउन आग्रह गरेका थिए। रासस

प्रकाशित: १७ भाद्र २०७३ ०९:५४ शुक्रबार

कैलाली घटनाका दोषीलाई कारवाही हुन्छः प्रधानमन्त्री