राजनीति

निर्वाचन तयारी बढाउनूस् : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सबै तहको निर्वाचन समयमै सम्पन्न गर्नेगरी तयारी तीव्र पार्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेकी छन्। मुलुकको पछिल्लो राजनीतिक अवस्थाको जानकारी गराउन शीतलनिवास पुगेका प्रधानमन्त्री दाहाललाई राष्ट्रपति भण्डारीले संविधानको व्यवस्थाअनुसार २०७४ माघ ७ गतेको समयसीमा सम्झाउँदै तयारी बढाउन भनेकी हुन्।

'२०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ,' राष्ट्रपतिलाई उद्धृत गर्दै उनका स्वकीय सचिव भेषराज अधिकारले भने, 'सरकार समयमै चुनाव सम्पन्न गर्न लागोस्।'

राष्ट्रपति भण्डारीले वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था र मागका विषयमा पनि प्रधानमन्त्रीसँग चासो राखेकी थिइन्। माग पूरा गरेर उनको जीवनरक्षा गर्न उनले आग्रह गरेकी हुन्। प्रधानमन्त्री दाहालले स्थानीय निकायको पुनःसंरचनासहित सबै विषयमा सरकारले दलीय सहमतिको प्रयास गरि रहेको राष्ट्रपतिलाई जानकारी गराए।

प्रकाशित: १७ भाद्र २०७३ ०१:४४ शुक्रबार

निर्वाचन तयारी बढाउनूस् राष्ट्रपति