राजनीति

पशु स्वास्थ्य प्राविधिकको भूमिका महत्वपूर्ण: पूर्व मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पशु स्वास्थ्य प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनले मानिसलाई उपचार गर्ने भन्दा पशु–चौपायाहरुलाई उपचार गर्नेहरुलाई ठूलो चुनौति रहेको बताए।

‘मानिसले आफूलाई कहाँ समस्या छ भनेर बताउन सक्छ, पशु–चौपायालाई उपचार गर्न गाह्रो हुन्छ,’ नेपाल स्वास्थ्य सेवा प्राविधिक संघले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री शाहीले भने, ‘पशु स्वास्थ्यको क्षेत्रमा काम गर्नेहरुको भूमिका चुनौतिपूर्ण छ।’  

पूर्वमुख्यमन्त्री शाहीले आफू सरकारको नेतृत्वमा रहँदा कर्णालीका पशु प्राविधिक अध्ययन गरेकाहरुलाई सहुलियत ऋण दिने व्यवस्था मिलाइएको बताए। ‘कर्णालीमा पशु–चौपायाको व्यवसाय प्रवद्र्धन गर्नका लागि पशु प्राविधिक अध्ययन गरेकाहरुलाई सहुलियत ऋणको व्यवस्था गरिएको हो,’ उनले भने, ‘पशु प्राविधिकहरुलाई प्रदेश सरकारले गरेको ऋणको व्यवस्थाबाट लाभ लिन आग्रह गर्दछु।’

उनले कर्णालीमा कृषि उत्पादन बढाउनका लागि पशुपालनलाई प्रवद्र्धन गर्नुपर्ने बताए। ‘पहिले–पहिले पशुपालन गर्ने, त्यसैको मलबाट कृषि उत्पादन राम्रो हुन्थ्यो,’ उनले भने, ‘अहिले पशुपालन गर्नेहरुको संख्या घट्दा, कृषि उत्पादन पनि घट्दै गएको छ, त्यसैले पशुपालनमा जोड दिन आवश्यक छ।’

कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले आवश्यक परेको बेला वर्तमान मुख्यमन्त्रीलाई सहयोग गर्ने गरेर विपक्षमा मतदान गरेको बताए। ‘मत पुग्दैन, सरकार ढल्ने अवस्था आएमा सहयोग गर्न तयार छौं भनेका छौं,’ उनले भने, ‘पोखिने गरेर मतदान गर्न आवश्यक नदेखेकाले विपक्षमा मतदान गरेका हौं।’

प्रदेश सांसद कालीबहादुर सहकारीले पशु प्राविधिकहरु सरकारी जागिर खाने भन्दा पनि आफ्नो सिपलाई गाउँबस्तीमा प्रयोग गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए। उनले पशु स्वास्थ्य प्राविधिकहरुका समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने बताए।

कार्यक्रममा प्रदेश सांसद खड्कबहादुर पोखरेल, घनश्याम भण्डारी, बलिमाया बुढा, सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी, नेल्टाका केन्द्रीय अध्यक्ष चरणबहादुर रावल, महासचिव सुरेशकुमार श्रेष्ठ, नेपाल निजामति कर्मचारी युनियनका सुर्खेत अध्यक्ष गणेशकुमार थापालगायतले बोलेका थिए।

नेल्टाका सुर्खेत अध्यक्ष बेदप्रकाश ढकालले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐनका बारेमा जानकारी दिने उद्देश्यले पशु स्वास्थ्यका क्षेत्रमा कार्यरत प्राविधिकहरुका लागि अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो।

प्रकाशित: १६ माघ २०७९ १२:४६ सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही