राजनीति

रामचन्द्रले बेवास्ता गरेको सुजाताको गुनासो

विराटनगर–माओवादी  नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री बनाउनेक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई वेवास्ता गरेको कांग्रेस नेतृ सुजाता कोइरालाले गुनासो गरेकी छन्।

 नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले यस्तो गुनासो गरेकी हुन् । उनले भनिन्, ‘पार्टीबाट मन्त्री पठाउने बिषयमा रामचन्द पौडेलले मेरो राय बुझ्ने प्रसास समेत गरेनन्।’ पार्टी सभापति शेरबहादुर देउवालाई  महाअधिवेशनमा भोट नदिएका कारण उनीबाट कुनै अपेक्षा नभए पनि पौडेलले एक शब्द नसोधेकोमा भने कोइरालाको चित्त दुखाई छ ।

कोइरालाहरूलाई सिध्याउन विपीकै पालादेखि पार्टी भित्रैबाट एक समूह सक्रिय भएको उनको दाबी छ । उनले भनिन्, ‘विपीकै पालादेखि सकृय गिरोहले यतिवेला पनि कोइरालाहरू मिलेका छैनन् भनेर दुष्प्रचार गरिरहेका छन्।’

महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला  र आफूबीचमा कुनै फाटो नभएको उनले स्पष्ट पारिन्। कोइरालाले राजनीतिक खिचातानी छाडेर दलहरू विकासमा अघिबढ्नु आबश्यक रहेको बताइन् । विकासका लागि स्थानिय निकायको चुनाव अपरिहार्य रहेको उनको धारणा छ ।

 

प्रकाशित: १२ भाद्र २०७३ १०:०५ आइतबार

रामचन्द्रले बेवास्ता गरेको सुजाताको गुनासो