राजनीति

रबि लामिछानेले गुमाए पार्टी सभापति, सांसद र मन्त्रीको पद

सर्वोच्च अदालतको फैसला पछि पदच्यूत भएका उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले तीन वटै पद गुमाएका छन्।

सर्वोच्चको शुक्रबारको फैसला अनुसार अमेरिकी नागरिकता त्यागेका तर नेपाली नागरिकता लिइनसकेका उनले तीन वटै पद गुमाएका हुन्।

अदातले लामिछानेसँग नेपाली नागरिकता नभएको फैसला सुनाएपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति, सांसद र मन्त्री पद गुमाएका हुन्। गत मंसिर ४ गतेको निर्वाचनम उनी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।

संवैधानिक इजलासले पुस ६ गते  सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा पुस २२ गते दुवै पक्षको छलफल गरेको थियो। उक्त इजलासले माघ ११ गतेका लागि पूर्ण सुनुवाइको पेशी तोकिएको थियो।\

रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको थियो। दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्।

अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा रबि लामिछानेले पार्टी दर्ता गरी पदाधिकारी रही उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको थियो। रिटमा रबि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको थियो।

फैसलाको पूर्णपाठ

प्रकाशित: १३ माघ २०७९ १२:३१ शुक्रबार

सर्वोच्च अदालत रबि लामिछाने