राजनीति

शनिबारदेखि ‘त्रियुगा १० गोल्डकप फुटबल’

सदरमुकाम त्रियुगा नगरपालिका १० नं. वडामा हुने ‘प्रथम वडाध्यक्ष गोल्डकप (सेभेन ए साईड) फुटबल प्रतियोगिता’ शनिबारदेखि सुरु हुन गईरहेको छ। वडा खेलकुद विकास समितिको आयोजनामा १० नं. वडाकै बोक्सेस्थित ‘गंगा खेल मैदान’मा हुने प्रतियोगिताको सबै  तयारी पुरा भएको आयोजकले जनाएको छ।  

वडाध्यक्ष किरण पाण्डेका अनुसार प्रतियोगितामा जिल्लाबाहिर र भित्रका गरी बिभिन्न ८ खेलाडी समूहले भाग लिने तय भएको छ । जसमा सप्तरीको प्रोग्रेसिभ युवा क्लब फत्तेपुर, सशस्त्र प्रहरी बल (एपिएफ) सुनसरी र सिराहाको गोलबजार स्पोर्टस् क्लब तथा जिल्लाभित्रका खेल समूहहरु नेपाली सेनाको पशुपति गण बोक्से, कटारी फुटबल क्लब कटारी, गाईघाट फुटबल क्लब, चौदण्डीगढी नगर समूह बेलटार र घरेलु टिम फ्युजन क्लब बोक्से रहेका छन्।  

शनिबार दिउसो १ः०० बजेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा कटारी फुटबल क्लब र चौदण्डीगढी नगरपालिकाबीच पहिलो प्रतिस्पर्धा हुनेछ। त्यस्तै दोस्रो दिनको खेलमा पशुपति गण बोक्से र गोलबजार स्पोर्टस् क्लब सिराहाबीच पौँठेजोरी हुनेछ। तेस्रो खेलमा घरेलु टिम फ्युजन र प्रोग्रेसिभ युवा क्लब फत्तेपुरले तागत भिडाउने छन् भने १७ गतेको अन्तिम खेलमा गाईघाट फुटबल क्लब र एपिएफ सुनसरीबीच प्रतिस्पर्धा हुनेछ।  

पहिलो चरणको खेल जित्ने टिमहरुबीच १८ र १९ गते सेमिफाईनल हुनेछ भने २१ गते फाईनल स्पर्धा हु्ने आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष हरिचन्द्र राईले बताए। उनका अनुसार विजेता समूहलाई पुरस्कारस्वरुप १ लाख नगद तथा ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेताले ५० हजार नगदका साथ सिल मेडल र प्रमाणपत्र पाउनेछ। त्यसैगरी प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडीलाई नगद र ट्रफि तथा प्रमाणपत्र प्रदान गरिनेछ।  

यो प्रतियोगितामा ७ जना मात्र खेलाडी मैदान छिर्न पाउनेछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को नियम अनुसार मैदानको क्षमता अनुसार ७ जना खेलाडीले मात्र प्रवेश पाउने आयोजकले जनाएको छ।  

वडाध्यक्ष पाण्डेले वडाबासी युवाहरुलाई खेलकुदको माध्यममार्फत सक्रिय बनाउँदै स्वस्थ्य, गतिसिल तथा राष्ट्र, राष्ट्रियताप्रति बफादार र अनुशासित बनाई राख्न प्रतियोगिता आयोजना गर्न लागेको बताए। वडा कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार बिनियोजित बजेटबाट प्रतियोगिता आयोजना गर्न लागेको पनि पाण्डेले बताएका छन्।  

प्रकाशित: १३ माघ २०७९ १२:१८ शुक्रबार

सदरमुकाम त्रियुगा नगरपालिका १०