राजनीति

‘प्रधानमन्त्रीको भ्रमणअघि नै भारतमा राजदूत नियुक्ती’

काठमाडौं– परराष्ट्रमन्त्री प्रकाशशरण महतले रिक्त रहेका छिमेकी मुलुक भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ती हुने बताएका छन्। मन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अगावै भारतका लागि राजदूत नियुक्ती गर्नेबारे कुराकानी भइरहेको बताएका हुन्।  

‘भारत र चीन दुवै ठाउँमा राजदूत नियुक्ती गर्छौं र खाली रहेका अन्य मुलुकहरुमा पनि नियुक्ती गछौं,’ मन्त्री महतले रिपोर्टर्स क्लबमा भने।

मन्त्री महतले आर्थिक रुपले प्रगती गरिरहेका दुई छिमेकी राष्ट्र भारत र चीनबाट नेपालले बढीभन्दा बढी फाइदा लिन सक्ने गरी विश्वासको आधारमा सम्बन्ध विकसित गरीअघि बढ्ने बताए।

‘नेपालको आफ्नो आम राष्ट्रिय स्वार्थलाई सुरक्षित राख्दै, छिमेकीहरूका चिन्ता र चासोलाई सम्बोधन गर्ने र विश्वासमा आधारीत रहेर सम्बन्ध विकास गर्ने हाम्रो प्राथमिकता हो। हाम्रो आर्थिक उन्नति पनि यसमै निर्भर छ।’ उनले नेपालको व्यापार घाटा बढेको भन्दै यसलाई कम गर्न छिमेकीहरुसँग विश्वासपूर्ण वातावरण सिर्जना हुनुपर्ने र उनीहरुको आर्थिक विकासबाट लाभ लिनुपर्नेमा जोड दिए।
 

प्रकाशित: ११ भाद्र २०७३ १०:४५ शनिबार

प्रधानमन्त्रीको भ्रमणअघि नै भारतमा राजदूत