राजनीति

कर्मचारी रोजाइ यातायात कार्यालय

काठमाडौं- निजामती कर्मचारीको पहिलो रोजाइमा यातायात व्यवस्था कार्यालय परेका छन्। सामान्य प्रशासन मन्त्रालयमा आएका सरुवा निवेदनमध्ये सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभागमा परेका हुन्।

मन्त्रालयमा बुधबारसम्म २ हजार ८ सय ८२ जनाले सरुवा माग गर्दै निवेदन दिएका छन्। तीमध्ये सबैभन्दा बढी ७ सय १३ जना यातायात कार्यालय जाने इच्छा देखाएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै भने जम्मा ६ जनाले मात्र सरुवा मागेका छन्। यातायात व्यवस्था कार्यालयको पनि सवारी चालक अनुमतिपत्र वितरण गर्ने ठाउँमा सरुवा माग्ने धेरै छन्। बागमती, सुनसरी, कास्कीलगायत यातायात व्यवस्था कार्यालय कर्मचारीको आकर्षण बनेका छन्।

कर्मचारीको दोस्रो रोजाइ भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत कार्यालय परेका छन्। त्यसमा ६ सय २५ जना कर्मचारीले सरुवा मागेका छन्। मालपोत र नापी कार्यालयलाई धेरैले छानेका छन्।

अर्थ मन्त्रालय तेस्रो रोजाइमा परेको छ। आवेदकमध्ये ४ सय ७२ जना कर्मचारीले अर्थमा सरुवा पाऊँ भन्दै निवेदन दिएका छन्। अर्थ मन्त्रालय कार्यालय सहयोगीको आकर्षण बनेको छ। ३ सय १६ कार्यालय सहयोगी र सवारी चालकमध्ये २ सय ११ जनाले अर्थ मन्त्रालय रोजेका छन्। सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीका अनुसार अर्थ मन्त्रालयमा सय प्रतिशत भत्ता भएका कारण कार्यालय सहयोगी अर्थ मन्त्रालयमा जान खोज्ने उनले बताए।

जम्मा ९४ जना उपसचिवले सरुवा मागेका छन्। जसमध्ये ६३ जनाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय छानेका छन्। गृह मन्त्रालय मातहतका विभाग, कार्यालयमा ३ सय २४, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि २ सय ५९ जना, श्रम मन्त्रालयमा १ सय ६६ जनाले सरुवाका लागि आवेदन दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीका अनुसार रेल विभागमा कोही जानै मान्दैनन्। यातायात व्यवस्था कार्यालय खरिदार–सुब्बाको रोजाइ बनेको छ। कर्मचारीले सकेसम्म घरपायक र मालदार कार्यालय रोज्ने गरेका छन्। उनका अनुसार केही दुई–चार पैसा अतिरिक्त हात पार्ने ठाउँमा कर्मचारी जान खोज्छन्। मन्त्रालयमा उपसचिवभन्दा माथिका कर्मचारी बस्न चाहँदैनन्।

सामान्य प्रशासन मन्त्रालयले यस वर्षदेखि सरुवाका लागि मन्त्रालय धाउने परिपाटी अन्त्य गर्दै अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको छ। सबैभन्दा बढी सुब्बा, खरदार पदमा कार्यरत कर्मचारीले सरुवा मागेका छन्। साउन ३ देखि सामान्य प्रशासन मन्त्रालयमा आएको अनलाइन सरुवा आवेदनअनुसार उपसचिव ९४, शाखा अधिकृत ३ सय १५, सुब्बा १ हजार १ सय १७, खरिदार ९ सय २९, कार्यालय सहयोगी ३ सय १६ लगायत छन्। कतिजनालाई कुन ठाउँमा सरुवा गर्ने भन्ने निर्णय प्रक्रियामा छ। 

प्रकाशित: १० भाद्र २०७३ ०१:३९ शुक्रबार

कर्मचारी रोजाइ यातायात कार्यालय