राजनीति

भारतीय विदेशमन्त्री स्वराजले जब नेपालको उदाहरण दिइन्

भारतीय विदेशमन्त्री सुष्मा स्वराज

काठमाडौं— भारतीय संस्थापन पक्षका भनाइहरु नेपालीका लागि सधैँ चासोको विषय हुने गरेका छन्। पाँच महिना लामो नाकाबन्दीपछि दक्षिणी छिमेकीको छवि नेपालीबीच आलोचनाको विषय बनिरहँदा त्यो चासो अझ बढेको छ।

कोख भाडामा लगाउने आमाको व्यापक शोषण भएको भन्दै नेपाल, थाइल्यान्डले पनि व्यापारिक सरोगेसीमाथि प्रतिबन्ध लगाइसकेका छन्

तर बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाललाई एउटा सकारात्मक उदाहरणको रुपमा पेश गरिन्। नेपाली राजनीतिकलाई आफ्नो पकडमा राख्न चाहने विदेश मन्त्रालयकी प्रमुखले भारत सरकारको सामाजिक नीतिको बचाऊका लागि नेपालको उदाहरण दिएकी हुन्।

भारत सरकारले गरेको कोख भाडामा लगाउने कार्य (सरोगेसी) माथि प्रतिबन्ध लगाउने कार्यको बचाऊ गर्दै उनले भनिन्, ‘कोख भाडामा लगाउने आमाको व्यापक शोषण भएको भन्दै नेपाल, थाइल्यान्डले पनि व्यापारिक सरोगेसीमाथि प्रतिबन्ध लगाइसकेका छन्’, उनले ट्विट गर्दै भनेकी छन्।

व्यापारिक सरोगेसीमा प्रतिबन्ध लगाएपछि सो विषय विश्वभरि चर्चामा छ। वैधानिक रुपमा विवाह गरेका भारतीय दम्पत्तीबाट पाँच वर्षसम्म बच्चा नभएमा भने सरोगेसी बच्चा पाउने छुट दिने नीतिले भारतभरि ठूलो चर्चा पाएको छ।

नेपालमा एक वर्षअघि नै सरोगेसी प्रतिबन्ध गरिसकेको छ। नेपालमा कोख भाडामा लगाउने अधिकांश महिला पनि भारतीय नागरिक थिए। गरिब महिलाको शोषण भएको भएको भन्दै सरकारले सरोगेसी प्रतिबन्ध गरेको थियो।
 

प्रकाशित: ९ भाद्र २०७३ ०८:१० बिहीबार

भारतीय विदेशमन्त्री स्वराजले जब नेपालको उदाहरण दिइन्