राजनीति

कसैले भाग नलिएपनि चुनाव भएरै छाड्छ: गजुरेल

काठमाडौं–नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले समयमै स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै गजुरेलले भने,‘कसैले भाग लिएपनि नलिएपनि चुनाव हुनुपर्छ, संविधानले नै ०७४ माघ ७ भित्र तीनवटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ, त्यसैले संविधान कार्यान्वयनको लागि पनि चुनाव समयमै गर्नुपर्छ।’

उनले चुनाव तोकिएकै मितिभित्र सम्पन्न नभए संविधान नै फेल हुने बताए। उनले वर्तमान सरकार नै समयमै चुनाव सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नको लागि गठन भएको उल्लेख गर्दै भने,‘त्यसैले सरकार तीनवटै निकायको निर्वाचन गराउन पूर्ण प्रतिबद्ध छ।’

गजुरेलले पूर्नसंरचना आयोगले भनेबमोजिम नै सरकारले चुनाव गर्ने स्पष्ट पारे। यद्यपी उनले आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गर्दा जनसंख्या, भूगोललाई आधार बनाएर जनताको आवश्यकता अनुसार सबै सेवासुविधा प्राप्त हुनेगरी निर्धारण गर्नुपर्नेमा जोड दिए।

गजुरेलले वर्तमान सरकारलाई चुनाव सम्पन्न गर्न अन्र्तराष्ट्रिय सहयोग, सद्भाव र समर्थन समेत रहेको दाबी गरे। उनले अघि थपे,‘प्रधानमन्त्रीको विशेष दुतहरुको भारत र चीन भ्रमणपछि उनीहरुको पनि समर्थन रहनेछ।’

 

प्रकाशित: ८ भाद्र २०७३ ०८:५५ बुधबार

कसैले भाग नलिएपनि चुनाव भएरै छाड्छ गजुरेल