राजनीति

सर्वोच्चले पत्र पठाएपछि मधेस प्रदेशका दुई सांसदले लिए पद तथा गोपनीयताको सपथ

सर्वोच्च अदालतले सांसदको कामकारबाहीमा रोक लगाइएको मधेस प्रदेशका दुई समानुपातिक प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्। बुधबार प्रदेशसभा सदस्यद्वय माला कर्ण र मोरजि हैदरले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नेकपा माओवादी केन्द्रका सांसदद्वय कर्ण र हैदरलाई सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ गराएका छन्।

अदालतले शपथ गराउन पत्र पठाएपछि दुवै जनालाई पद तथा गोपनीयताको शपथ गराएको प्रदेशसभाका सभामुख मण्डलले जानकारी दिए।

दुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन्। माओवादीले पठाएको बन्दसूची अनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएपछि सर्वोच्चले तत्काल शपथ नगराउन प्रदेश सभा संसद् सचिवालयलाई पत्र पठाइएपछि दुवै सांसदको शपथ रोकिएको थियो।

मधेस प्रदेशमा माओवादीबाट ४ जना समानुपातिक र पाँचजना प्रत्यक्ष निर्वाचित भएका थिए। समानुपातिकबाट निर्वाचित हुनेमा धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास (पहाडी) र महोत्तरीबाट मोहम्मद रजी हैदर निर्वाचित भएका हुन्। सुनिता र माला मधेसी समूह, शारदा दलित र रजी मुस्लिम समूहबाट निर्वाचित भएका हुन्।

मधेस प्रदेशसभामा माओवादी केन्द्रको सांसदको संख्या ९ पुगेको छ।

प्रकाशित: ११ माघ २०७९ ०९:३२ बुधबार

सर्वोच्च अदालत