राजनीति

प्रतिनिधि सभाका कारण प्रदेश सभाका कानूनहरु बन्न सकेनन्: सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभा बीच अनुभवहरुको आदानप्रदान हुनुपर्ने् बताएका छन्।

सोमवार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै उनले संसदीय भुमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताएका हुन।

उनले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण अप्ठेराहरु सिर्जना भएको गुनासो आएको बताए । सभामुख घिमिरेले यस्ता कुराहरुको सम्बोधन गर्न आपसमा मिलेर अघि बढा्नुपर्ने बताए।

‘यस्ता कानूनहरु ठिक समयमा ठिक ढंगले बन्नुपर्छ । कुनैपनि कानूनको अभावमा जनताको काममा अवरोध हुदैन’, सभामुख घिमिरेले भने, ‘संघमा रहेको सभामुखका रोलहरु, अहिले देखिएका केही समस्या वा यसका अनुभवहरुलाई समेत लिएर तलमाथिका सम्बन्ध अघि बढनुपर्छ।’

उनले थपे, ‘ऐनहरु बनाउँदा कतिपय माथिका कारणले तल ऐन नबनेका वा कतिपय तलै ऐनहरु नबनेर माथिलाई पनि केही अफ्ठ्याराहरु भएका जस्ता कुराहरुलाई कसरी मिलाउनुपर्छ आदिजस्ता कुराहरु सिकेर जाउँ र भावि दिनमा प्रभावकारी भुमिका हुन सकोस् जसले गर्दा संसदको गरिमा माथि जान सकोस् ।’

सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भुमिका हुने विश्वास व्यक्त गरे। उनले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको शुरुवात भएको बताए। संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भुमिका खेल्ने उहाँको भनाई छ।

सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरुसँग छलफल गर्दा आफूहरुलाई पनि समावेश गराउन आग्रह गरेका थिए। उनले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रुपमा आफूहरुले हासिल गरेका अनुभवहरुले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पु¥याउने बताए।

संयोजक शाहीले सभामुखले संसदको गरिमा र महत्वलाई स्थापित गराउने अपेक्षा आफूहरुले गरेको बताए। उनले विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा वहस र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘धेरै चुनौतिहरु छन्। यो जिम्मेवारीमा रहँदा तटस्थताको सन्दर्भमा पनि अलि अलि प्रश्नहरु आएकै छन्। यो संस्थाको गरिमा, महत्वलाई स्थापित गर्नमा सम्माननीयज्यू त लामो अनुभवी, परिपक्व लिडरशिप भएका हुनाले त्यसमा धेरै मद्दत पुग्नेछ, बल पुग्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। सम्मानीय ज्युको नेतृत्वमा विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा पनि बहस, पैरवी गर्नु जरुरी छ। त्यो कामको नेतृत्व लिनुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ।’

वागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरुले गरेका कामको समिक्षा हुनुपर्ने बताए। उनले प्रदेशमा बन्न बाँकी रहेका कानूनहरु बनाउनका लागि संघले पनि घच्घचाउनुपर्ने बताए।

उनले भने, ‘प्रदेशमा अझै पनि बन्न बाँकी कानूनहरु छ। बन्न बाँकी कानूनहरु संघले कानून नबनाएका कारण पनि भएको छ। त्यसकारण संघले पनि प्रदेशका लागि कानून बनाउनका निम्ति घच्घचाउनुपर्ने र तल बनाउनुपर्ने। ती कुरा गर्नसक्यो भने राम्रो हुन्छ भन्ने लागेको छ।’

प्रकाशित: ९ माघ २०७९ १२:१९ सोमबार