राजनीति

धरानमा अवैध संरचना भत्काउदा स्थानीय र प्रहरीबीच झडप

धरान ५ देउरालीस्थित अधेरी खोला किनारको सार्वजनिक जग्गामा बनेको अवैध घर उपमहानगरपालिकाको डोजरले भत्काएको छ।

आज बिहानै नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा सुरक्षा दिएर अवैधरुपमा बनेको उक्त घर भत्काइएको हो।

उपमहानगरपालिकाले २ पटक घर नबनाउने र बनेको संरचना भत्काउने सुचना दिएपनि अटेर गरेपछि आज बिहान डोजरले भत्काएको हो। त्यसक्रममा केहीबेर स्थानीय र प्रहरीको झडप पनि भएको थियो।

स्थानीयको ढुंगामुढाले डोजरको शिशा फुटेको छ। घर भत्काउने डोजर आउदैछ भन्ने खबर पाएका स्थानीय बिहानैदेखि उक्त घर वरीपरी भेला भएर बसेका थिए। पुर्व वडाअध्यक्ष सन्तोष लिम्बुसमेत उक्त घर भत्काउन नहुने भन्दै प्रतिवाद गर्न आएका थिए। उनले पहिला खोलाको भाग सिमांकन गर्नुपर्ने पनि माग गरेका थिए।

घरधनी मुना चौधरी लिम्बुले वडा नं ५ को कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन्। तर उनको रिटमा अदालतले अन्तरिम आदेश भने दिएन। उक्त घर बनेको जग्गालाई फुटबल मैदान बनाउने भन्दै यसअघिका वडाअध्यक्ष सन्तोष लिम्बुले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर जग्गा संरक्षण गरेका थिए।

गएको स्थानीय चुनावमा पुनः वडाअध्यक्षमा उठेका उनी पराजित भएपछि घर बनाउन लगाएको आरोप उनलाई छ। उनले भने यो आरोपको खण्डन गर्दे वडा ५ को अधिकांश ८० प्रतिशत घर सार्वजनिक जग्गामा बनेको भन्दै उनले एउटा मात्र घर भत्काउन नपाइने बताए। मेयर हर्क साम्पाङले भने पुरानो घर र वस्ती बाहेक सार्वजनिक जग्गामा नया घर बनाउन नदिने बताए। उनले समयमै घर नबनाउन सुचना दिये पनि अटेर गरेकोले कानुन वमोजिम अघि बढेको बताए।

प्रकाशित: ८ माघ २०७९ ०७:१६ आइतबार

धरान सार्वजनिक जग्गा