राजनीति

पालुङटारमा मेयरका स्वकीय सचिवमाथि कार्यालयमै कुटपिट

गोरखाको पालुङटार नगरपालिकाका मेयरका स्वकीय सचिव अशोक मरहट्टामाथि हातपात भएको छ। पालुङटार नगरपालिका २ का दुर्गालाल श्रेष्ठले नगरपालिका कार्यालयमै कुटपिट गरेको नगरप्रमुख विवश चिन्तनले बताए।  

मेयरका स्वकीय सचिव मरहट्टाले आफू उपचारकालागि आँपपिपल अस्पताल पुगेको बताउँदै भने ‘एउटा कुरा गर्नुछ भन्दै पालुङटार नगरपालिका कार्यालयको भर्‍याङबाट एक्लै राखेर कुटपिट गरियो।’

पालुङटार नगरपालिकामा शनिवारदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु थियो। उक्त कार्यक्रममा सहभागी हुन गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल सहितका नेताहरु पालुङटार आएका थिए। सोही क्रममा पालुङटार नगरपालिकामा छलफल कार्यक्रम राखिएको थियो। छलफलमा दुर्गालाल श्रेष्ठ पनि सहभागी थिए। श्रेष्ठले मरहट्टालाई छलफल गर्नुछ भन्दै एक्लै बोलाए। उनले वडामा चुनावको हिसाब किताब मिलाउन बाँकी रहेछ तिर्नुपर्दैन भनेर कुटपिट गरेको स्वकीय सचिव मरहट्टाले बताए।

‘मैले केही भनेको थिइन, कहाँ के बाँकी छ थाहा भएन भनेँ, एक्कासि ममाथि कार्यालयमै कुटपिट भयो’ मरहट्टाले भने।

उनले आफुले इलाका प्रहरी कार्यालय ठाँटी पोखरीमा उजुरी दिईसकेको र कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेको बताए। यसबारे आरोप लागेका श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा फोन उठेन। 

कुटपिट आरोप लागेका श्रेष्ठ पालुङटार २ मा गत निर्वाचनमा चुनावी कमाण्डर थिए। गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले कुटपिटको विषयमा जानकारी आएको र घटनाबारे सोधपुछ भइरहेको बताए।  

प्रकाशित: ७ माघ २०७९ १३:०२ शनिबार

गोरखाको पालुङटार नगरपालिका मेयरका स्वकीय सचिव अशोक मरहट्टा