राजनीति

हत्यारा करार गरिएका एमाले सांसदलाई पक्राउ गर्न नसकेको भन्दै सांसद खतिवडाको आक्रोश

फाइल तस्बिर।

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्।

गृहमन्त्री लामिछानेले संसदमा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले प्रेस विज्ञप्ती निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन्। शनिबार प्रतिनिधिसभा बैठकको सुरुवातमै बोल्दै सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ती निकाल्दै जाने हो भने यसको मुलुकलाई कुन अवस्थामा पुर्‍याउने हो भने पनि प्रश्न समेत गरे।

‘गृहमन्त्री बालापनको, केटाकेटीपनको प्रर्दशन त्यहाँ गर्नु भएन। के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो?, उनले प्रश्न गरे, ‘मौखिक रुपमा सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्पराको सृजना भएको हो ? के अझै पनि जनतालाई फेरी ढाँटनका लागि यो सूचना प्रकाशित गरिएको हो ?’

उलले थपे, ‘यदि गृह मन्त्रालय यसै गरी सूचना सार्वजनिक गर्ने हो भने प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने, सशष्त्रलाई लेखेको सूचना सार्वजनिक गर्ने, अन्य सूचना सार्वजनिक गर्ने हो भने गोप्यताको हक कहाँ रहने भयो?’

सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानवीनको विषय पनि संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरे। उनले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँटने, छल्ने काम नगर्न पनि सचेत गराए।

प्रकाशित: ७ माघ २०७९ ०८:२९ शनिबार

रामहरि खतिवडा