राजनीति

प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछुः सभामुख घिमिरे

प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन्।  शुक्रबार सभामुखको पद तथा गोपनियताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका हुन्।

उनले संसदलाई अझ बढी क्रियाशिल बनाउन पनि प्रयत्न गर्ने बताए। उनले संसदलाई प्रभावकारी ढंगले अगाडी बढाउने बताए। 

सभामुख घिमिरेले भने, ‘नेपाली जनताको प्रतिनिधि संस्था संघीय संसद भनेको सर्वोच्च विधायिका संस्था हो। यो संस्थाको प्रयोग हामीले नयाँ संविधान बनाएपछि एक अवधि ग¥यौँ। त्यसलाई नेपालीपनको हिसावबाट अझ बढी व्यवस्थित, अझ बढी क्रियाशिल, अझैबढी मर्यादित बनाउनको लागि सबैको प्रयत्न हुनेछ। त्यसको नेतृत्व गर्ने मैले जिम्मेवारी पाएको छु, र यसलाई प्रभावकारी ढंगबाट संघीय संसदलाई अगाडी बढाउने कुराहरु गर्नुपर्छ। यही कुरामा मिडियाकर्मीहरु लगायत सबै साथीहरुको सहयोगको अपेक्षासहित मैले अगाडी लाने सोच बनाएको कुरा राख्दछु।’

सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे।

प्रकाशित: ६ माघ २०७९ ०८:४६ शुक्रबार

प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरे