काठमाडौं- सरकारको विशेष दूतको रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सोमबार चीन प्रस्थान गरेका छन्। चीनसँगको सम्बन्ध थप मजबुत बनाउन र चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्न उनलाई सरकारले विशेषदूतको रूपमा चीन पठाएको हो।
पाँच दिने चीन भ्रमणक्रममा उनले मंगलबार बेइजिङमा महŒवपूर्ण राजनीतिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सोही क्रममा उनले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गर्नेछन्। उनले चिनियाँ विदेशमन्त्री वाङ यी लगायतसँग भेटवार्ता गर्ने जनाइएको छ।
भेटवार्तामा विशेष दूत महराले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, परिवर्तित राजनीतिक अवस्था तथा प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी बाटो र नेपाल–चीनबीच भएका सम्झौताका सम्बन्धमा सरकारको प्रतिबद्धतालगायत विषयमा नेपाल सरकारको स्पष्ट धारणा राख्नेछन्।
गत साता बसेको मन्त्रिपरिषद् बैठकले दुई छिमेकी चीन र भारतमा सम्बन्ध थप मजबुत बनाउन विशेष दूत पठाउने निर्णय गरेको थियो। जसअनुसार विशेष दूतको रुपमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी केही दिनभित्रै भारतको भ्रमण गर्दैछन्। विशेष दूत महरा शुक्रबार चीन भ्रमणबाट स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशित: ३२ श्रावण २०७३ ०२:१८ मंगलबार