राजनीति

अमेरिकी राजदूतद्वारा क्षेत्रीय नमुना राष्ट्रसंघ सम्मेलन उद्‌घाटन

दक्षिण तथा मध्य एसियाली विश्‍वविद्यालय स्तरीय क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्दै राजदूत टेपलेट्ज

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले आज दक्षिण तथा मध्य एसियाली विश्‍वविद्यालय स्तरीय क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलनको उद्‍घाटन गरेकी छिन्। अमेरिकी दूतावासले वैचारिक युवा समाजसँगको साझेदारीमा आयोजना गरेको उक्त सम्मेलनमा दक्षिण तथा मध्य एसियाका २०० प्रतिनिधि भेला भएका छन्।

सम्मेलनमा उनीहरूले हिंसात्मक अतिवादविरुद्ध सङ्‍घर्ष, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्‍चितता, जलवायु परिवर्तन अनुकूलन र वैदेशिक कामदारको मानव अधिकार प्रवर्द्धन लगायतका बहुपक्षीय विषयवस्तुहरूमा छलफल गर्नेछन्।

नमूना राष्ट्रसंघीय सम्मेलन जस्ता कार्यक्रममार्फत सम्बन्ध विस्तार गर्नु भनेको दक्षिण तथा मध्य एसियाका मुलुकहरूबीच सम्बन्ध स्थापित गर्ने महत्त्वपूर्ण तरिका हो । संयुक्त राज्य अमेरिका यस प्रकारका सम्बन्ध स्थापनालाई प्रोत्साहन दिन पाउँदा गौरवान्वित छ।

सम्मेलनको उद्‍घाटन गर्दै राजदूत टेपलेट्जले नमूना राष्ट्रसंघीय सम्मेलन दक्षिण तथा मध्य एसियाका मुलुकहरूबीच सम्बन्ध स्थापित गर्ने महत्त्वपूर्ण तरिका भएको उल्लेख गरिन्। संयुक्त राज्य अमेरिका यस प्रकारका सम्बन्ध स्थापनालाई प्रोत्साहन दिन पाउँदा गौरवान्वित रहेको उनले बताइन्।

उद्‍घाटन समारोहमा युएनडिपीका नेपाल निर्देशक रेनोड मेयर  र मलेसियाका लागि पूर्व नेपाली राजदूत ऋषिराज अधिकारी लगायतका वक्ताले सम्बोधन गरेका थिए।

आगामी पाँच दिनसम्म चल्ने सम्मेलनमा आर्थिक तथा सामाजिक परिषद्, राष्ट्रसंघीय वातावरणीय कार्यक्रम, राष्ट्रसंघीय सुरक्षा परिषद् र सामाजिक, सांस्कृतिक तथा मानवीय समिति गरी संयुक्त राष्ट्रसंघका चार समितिको अभ्यास गरिनेछ।

प्रतिनिधिहरूले जलवायु परिवर्तन तथा सीमापार जलस्रोत व्यवस्थापन लगायतका वास्तविक जीवनका विषयवस्तुसम्बन्धी व्यापक छलफलमा सरिक हुनुका साथै सम्मेलनमा एक आपसमा सम्बन्ध विस्तार गर्ने अवसर गर्ने अवसर प्राप्त गर्ने छन्। यस्का  साथै दक्षिण तथा मध्य एसिया क्षेत्रको समृद्ध संस्कृति तथा विविधताको सम्मानार्थ 'ग्लोबल भिलेज' जस्ता कार्यक्रममा समेत समावेश हुनेछन्।

प्रकाशित: ३१ श्रावण २०७३ ०९:५० सोमबार

अमेरिकी राजदूतद्वारा क्षेत्रीय नमुना राष्ट्रसंघ सम्मेलन उद्‌घाटन