राजनीति

असाेज २ भित्र भूकम्प पीडितले ५० हजार पाउने

काठमाडौं–सरकारले ४५ दिनभित्र पहिलो किस्ताको रकम उपलब्ध गराउन  निर्देशन दिएपछि पुननिर्माण प्राधिरणरले  भूकम्प पीडितलाई पहिलो किस्ताको रकम अनुदान दिन एक महिने अभियान सुरु गरेको छ।

एक महिनाभित्र भूकम्प प्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार घर परिवारलाई पहिलो किस्ताको ५० हजार अनुदान वितरण गर्ने प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जानकारी दिए।  प्राधिकरणले हालसम्म विभिन्न ११ जिल्लाका ४९  हजार ७ सय ४९ घर  परिवारलाई पहिलो किस्ताको अनुदान स्वरुप ५० हजार वितरण गरिसकेको छ। 'सरकारकाे घाेषणा र प्राधिकरणकाे कार्य याेजना पूरा गर्न अाजदेखि एक महिनासम्म विशेष अभियान सुरू गरिएकाे छ', उनले भने,'यस अभियान अन्तर्गत मुख्यत सम्झाैता सम्पन्न भएका घरधनीका लागि अनुदानकाे पहिलाे किस्ता रकम बैंक खातामा पुर्याउने  र हालसम्म दर्ता भएका गुनासाकाे सुनुवाइ गरिने छ।' प्राधिकरणमा हालसम्म १ लाख २५ भन्दा बढी गुनासा अाइसकेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले ४५ दिनभित्र सबै भूकम्प पीडितलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिएको थियो। सरकारले निर्देशन दिएपछि प्राधिकरणले आजैदेखि लागू हुनेगरी भूकम्प पीडितलाई अनुदान उपलब्ध गराउन एक महिने अभियान संचालन गरेको हो।

ताेकिएकाे समयभित्र (असाेज २ गते) पीडित परिवारलाइ रकम उपलब्ध गराउन प्राधिकरण र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतका कर्मचारीले सार्वजनिक विदाकाे दिन पनि काम गर्नेछन्।  प्रधिकरणले हालसम्म तीन लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झाैता गरिसकेकाे छ।

 

 

प्रकाशित: ३१ श्रावण २०७३ ०८:१२ सोमबार

असाेज भूकम्प पीडितले ५० पाउने