राजनीति

आन्दोलनको गोलचक्करमा फसेको मधेस ‘मुद्दा’

बलिदानीपूर्ण मधेस आन्दोलनको डेढ दशक

पहिलो मधेसी सहिद रमेश महतोको आमा रानो। तस्बिरःनागरिक

राज्यको हरेक अंगमा मधेसको बराबरको हैसियतमा पुर्‍याउन पछिल्लो डेढ दशकमा तीन पटक मधेसले बलिदानीपूर्ण आन्दोलन गर्यो। जसमा करिब डेढ सय मधेसीजनले प्राणको आहुती दिए। तर, बलिदानीको मर्मअनुसारको मधेसले राजनीतिक फल प्राप्त गर्नु भन्दा फाइदा सोहोर्ने नेता धेरै भए।

दशकौंदेखि राज्यको अंगमा सहभागीताबाट ओझेल पारिएको मधेसमा पहिचानबादी राजनीतिको विद्रोहपूर्ण रुप ०६३ मा देखिएपनि यसको सूत्रपात २००७ सालको क्रान्तिको आसपास समयसँग गाँसिएको छ। प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको तयारी हुँदै गर्दा त्यसमा मधेसीहरूको पनि योगदान थियो। त्यो समयमा मधेसको भूमिका पर्दा पछाडिको थियो। आर्थिक सहयोग गरे र नेताहरूलाई ‘शेल्टर’ दिएर मधेसले भूमिका निर्वाह गरेका थिए। कतिपय वेला मधेसीजन क्रान्तिकारी रूपमा समेत उत्रिए। खास गरी महोत्तरी, सप्तरी र मोरङमा मधेसी जमीनदारहरू प्रजातन्त्र प्राप्तिको त्यो आन्दोलनमा क्रान्तिकारी भूमिका निर्वाह गरेका थिए।

भारतमा अंग्रेजले शासन गरेको बखत जयप्रकाश नारायण सन् १९४२ मा जेलबाट भागेर नेपाल पसी सप्तरीको वरसाइनमा शरण लिएका थिए। त्योबेलादेखि नै मधेसमा प्रजातन्त्रबारे चासो र चेतनको संचार भएको पूराना राजनीतिज्ञहरु बताउँछन्।

मधेसमा छँदै जयप्रकाशले ब्रिटिशहरूलाई भारतबाट धपाउने उद्देश्य अनुरूप ‘आजाद दस्ता’ स्थापना गरेका थिए। त्यसैबीच जयप्रकाश र राममनोहर लोहियालाई ब्रिटिशको दबाबमा राणा शासकले पक्राउ गरेर सप्तरी हनुमाननगर जेलमा राख्यो।

 तर, राणाले उनीहरूलाई ब्रिटिश समक्ष बुझाउनुअघि नै आजाद दस्ताले हनुमाननगरमा आक्रमण गरेर दुवै नेतालाई आजाद गराएको थियो। त्यो घटनामा १५० भन्दा बढी मधेसीजन पक्राउ परेका थिए। त्यो बेला अब्दुल मियाँ र कृष्णवीर कुर्मी प्रहरी हिरासतमै मारिएका थिए।

२०१५ सालमा रघुनाथ ठाकुरले मधेसलाई रंगभेदबाट मुक्तिका लागि आन्दोलनको बीज रोपेका थिए। ठाकुर २००४/०५ सालतिर कांग्रेसमा सक्रिय थिए। मधेसीहरूमाथिको विभेद देखेपछि उनी मधेश मुक्ति आन्दोलनमा लागेका थिए।

पञ्चायतकालमा पनि मधेसमाथिको रंगभेद व्याप्त थियो। जसका विरुद्ध रामराजाप्रसाद सिंहलगायतले लडेका थिए। त्यो बेला उनीहरु व्यवस्था विरुद्ध लडाई गरेका थिए। व्यवस्थाविरुद्ध लड्दा  लक्ष्मीनारायण झा, सत्यनारायण साह, सूर्यनाथ यादव र साकेतचन्द्र मिश्र, दिलीप चौधरी तत्कालिन सरकारद्वारा बेपत्ता पारिएका थिए। रामराजा फुत्किन सफल भएका थिए। र, दुर्गानन्द झा हाँसिहाँसि फासि चढेका थिए। उनी पञ्चायतका प्रथम शहीद भए।

मधेसमाथिको उत्पीडन र रंगभेद पञ्चायतबेला देखि नै मधेस राजनीतिको मूल एजेन्डा बन्न गयो। पञ्चायत व्यवस्थाले मधेसमा रंगभेद गर्यो भन्दै व्यवस्थाविरुद्ध लडेका मधेसीहरुको प्रजातन्त्र कालमा पनि योगदानको मूल्यांकन भएन।

इतिहास नियाल्ने हो भने २००७, २०१७ र २०४६ सालमा भएका राजनीतिक परिवर्तनको केन्द्रमा मधेस या मधेशी नै थिए राजनीतिज्ञ खुशीलाल मण्डल भन्छन्,‘ तर, मधेसीहरूले उपेक्षा र उत्पीडनको अनुभव मात्रै सगाल्नुपर्‍यो।’ प्रजातन्त्रको पुनःस्थापनापछि मधेस राजनीति केही रणनीतिक रूपमा अगाडि बढेको देखिन्छ। 

जसको प्रणेता नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह थिए। उनले पींधका आमजन र केन्द्र बीचको सम्बन्ध स्थापित गर्ने काम गरे। मधेस राजनीतिमा रूपान्तरणका आयाम स्थापित गरे। र, मुद्दाको पहिचानसँगै लक्ष्य प्राप्तिको जग पनि बसाले। उनको अवसानपछि उनले नेतृत्व गरेको सद्भावना पार्टीको अस्तित्व संकटमा पर्यो तर मधेस राजनीतिमा थुप्रै दल र नेता उदाए।

सिंहको अवसानपछि मधेसमा उदाएका दल र नेताहरू सबैले मधेसका मुद्दाको राग अलाप्ने गरेका छन्। तर, उनीहरूले एउटै छातामुनि संगठित भई लडाइँ लड्न भने सकेका छैनन्। विभिन्न समयमा केही शक्तिबीच एकता भए पनि यी दलहरूमा पद तथा अधिकारको बाँडफाँड, सत्तायात्रा लगायतका विषयमा विवादका कारण विभाजित भएका अनेक शृंखल देखिन्छन्।

०६३ मा पहिलो मधेस विद्रोह गरी उदाएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम फुट्दैजुट्दै अहिले जनता समाजवादी पार्टी भएको छ। तर, मधेस राजनीतिमा यो पार्टी अझै पनि महत्त्वपूर्ण राजनीतिक शक्ति हो। पार्टीको रुपमा आउनुअघि(०६३ सम्म) मधेसी जनअधिकार फोरम मधेसको मुद्दा पैरवीमा सक्रिय थियो।

२०६३ माघ १ मा जारी अन्तरिम संविधानको प्रतिलिपी जलाएर मधेस आन्दोलनको शुरूआत गरेपछि मधेसी जनअधिकार फोरमको नाम नेपालको राजनीतिमा चम्केको हो।  

फुटजुटको राजनीति

०६३ को माघे मधेस विद्रोहपछि भएको पहिलो संविधानसभा निर्वाचनमा पहिलो पटक सहभागी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम ५२ सीट जितेर संविधानसभामा बलियो उपस्थिति दर्ज गर्यो। तर, यो शक्ति धेरै दिनसम्म टिक्न सकेन। समयक्रमसँगै एकपछि अर्को फुटले शक्ति क्षयीकृत हुँदै गयो। फुटसँगै यस पार्टीको अन्य पार्टीसँग एकता गरेर नयाँ पार्टी बनाउने सिलसिला पनि चल्यो।

२०७२ सालमा फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी मिलेर संघीय समाजवादी फोरम बन्यो भने २०७६ वैशाखमा उक्त पार्टी र बाबुराम भट्टराईको नयाँ शक्तिसँग एकता भई समाजवादी पार्टी नेपाल (सपा) गठन भयो। 

२०७७ वैशाखमा सपा र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) गठन भएर मधेस केन्द्रित राजनीतिक दल र नेताहरू एकै ठाउँमा आए। तर, त्यसको एक वर्षपछि नै दल टुक्रियो। महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरूले जसपाबाट अलग्ग्एिर  २०७८ भदौमा नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे।

महन्थ ठाकुर ०६४अघि नेपाली कांग्रेसको उच्च तहका नेता थिए। उनले नेपाली कांग्रेस त्याग्दै २०६४ मंसीरमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) स्थापना गरेका थिए। तर, मधेसीहरूको बृहत् पहिचानवादी संघर्ष अगाडि बढाउनेभन्दा पनि यो दल अन्य विषयमै रुमलियो। यसमा पनि फुट र अर्को दलसँग जुटको सिलसिला चलिरह्यो। तमलोपा सहितका ६ दल मिलेर २०७४ वैशाखमा राजपा जन्मिएको थियो। जसपाबाट अलग्गिएर ठाकुरहरूले बनाएको लोसपामा पनि असन्तुष्टि बढेपछि २०७८ पुसमा वृषेशचन्द्र लाल समूह बाहिरियो। यो समूहले पुरानो दल तमलोपालाई सक्रिय बनाएको छ।

यी घटनाक्रमले मधेसकेन्द्रित दलहरू वेलावेला ठूला दलहरू विरुद्ध मोर्चाबन्दीका लागि एक ठाउँमा आउने गरेको विगतको अभ्यास हेर्दा मधेसमा गठबन्धन र मोर्चाहरू गठन, विघटन वा पुनर्गठन हुनु सामान्य प्रक्रिया बनिसकेको छ। यसले मधेसी राजनीतिमा पार्टी र मुद्दा प्रमुख नरहेको प्रष्ट्याउँछ। पार्टी गठन तथा विभाजन र राजनीतिक मुद्दाको उठान नेताहरूको स्वार्थ र लाभहानिमा आधारित देखिन्छ। खास गरी केन्द्रिय सत्तासँग मोलमोलाइ गर्न मधेस मुद्दाको उपयोग गरिएको घटनाक्रमले देखाउँछ।

बलिदानीको डेढ दशक

मधेस आन्दोलन भएको डेढ दशक बितेको छ। २०६३ माघ ५ गते लाहानमा रमेश महतोको तत्कालीन माओवादीले चलाएको गोली लागेर मृत्यु भयो। बन्द राजमार्ग बलपूर्वक खुलाएर जान खोज्ने क्रममा माओवादी कार्यकर्ताले चलाएको गोली रमेशको छातीमा लागेर उनी त्यहीँ ढलेका थिए। त्यसपछि लहानको आन्दोलन मधेस विद्रोहको रुप धारण गर्दै मधेसभर फैलिएको थियो।

२०६३ साल माघ १ गते अन्तरिम संविधान घोषणा भयो। त्यसमा संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, आत्मनिर्णयको अधिकार र स्वशासन एवम् प्रादेशिक स्वायत्तताको कुरा समावेश थिएन। 

संविधान घोषणा भएको भोलिपल्टै माघ २ गते उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले काठमाडौंको माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएर बिरोध जनाए। अन्तरिम संविधान जलाएपछि उपेन्द्र यादवलगायत २८ जनालाई प्रहरीले गिरफ्तार गर्यो।

अन्तरिम संविधान जलाएको कसुर सरकारद्वारा उनीहरूमाथि सार्वजनिक मुद्दा चलाइएपछि फोरम नेपालले लहानसहित मधेसका जिल्लाहरूमा आन्दोलन थाल्यो। अध्यक्ष यादवलगायत अन्य नेताहरूको रिहाइको माग गर्दै फोरम नेपालले माघ ३ गतेदेखि ५ गतेसम्म मधेस बन्दको आह्वान गरेको थियो। सोही क्रममा लहानमा माओवादी कार्यकर्ता र फोरमवीच रोक्ने र अघि बढ्ने विषयमा विवाद हुँदा माओवादीबाट गोली चलाउँदा रमेश मारिएका थिए।  

रमेश फोरम नेपालका विद्यार्थी नेता थिए। महतोको हत्यापछि लहानमा दर्जनौ सवारी साधनमा आगो झोकिए। सरकारी कार्यालयहरुमा आगजनी गरिए। आन्दोलन चर्किदै माघ ८ गत्तेसम्म लहानमा मात्र पाँच जनाको सहादत भयो। र, आन्दोलनको मुस्लो मधेसभर फैलिसकेको थियो।

माघ ९ गत्ते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले आन्दोलनरत्त पक्ष मधेसी जनअधिकार फोरमलाई वार्ताका लागि आह्वान गरे। फोरमले तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको राजिनामा नआएसम्म वार्ता नबस्ने अडान लियो। माघ १७ गते तत्कालीन प्रधानमन्त्री कोइरालाले देशवासीको नाममा सम्बोधन गर्न बाध्य भए। 

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र थपिने, नयाँ संविधानमा सबै जात, जाति, वर्ग र क्षेत्रका जनताको प्रतिनिधित्व हुने आश्वास्त पार्दै आन्दोलन फिर्ता लिन आग्रह गर्यो। तर, प्रधानमन्त्रीको सम्बोधनले मधेसको माग पूरा नभएको भन्दै आन्दोलन जारी रोकिएन।

माघ २४ गते प्रधानमन्त्री कोइरालाले देशबासीको नाममा सच्याएर पुनःअर्को सम्बोधन गरेपछि माघ २५ गते फोरम नेपालले १० दिनका लागि फोरमले आन्दोलन स्थगित गर्यो। त्यतिबेलासम्म मधेसमा ४२ जना मधेसी युवाको ज्यान गइसकेको थियो। यस अवधिमा सरकारबाट सकारात्मक पहल नभएको भन्दै पुनः आन्दोलन चर्किएको थियो। काँग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वको वार्ता समितिसँग जेठ १८ गतेदेखि विभिन्न चरणमा वार्ता भई २०६४ भदौ १३ गते सरकार र फोरम नेपालबीच २२ बुँदे सम्झौता भएको थियो।

राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व गराउने, राज्य पुनःसंरचनासम्बन्धी आयोग गठन गर्ने, स्वायत्त मधेस प्रदेशको निर्माण गर्नेलगायतका बुँदामा सहमति भएको थियो। जेठ १८ गतेदेखि विभिन्न ६ चरणमा वार्ता भयो र अन्त्यमा २०६४ भदौ १३ गते सरकार र फोरम नेपालबीच २२ बुँदे सम्झौता भयो। ०६५ फागुन १६ मा सरकार र फोरमबीच अर्को ८ बुँदे सम्झौता भएको थियो। फोरनम नेतृत्वको बलिदानीपूर्ण आन्दोलनकै बलमा अन्तरिम संविधानमा संघीयतासहितको व्यवस्था सम्भव भएको थियो।  

आन्दोलनको गोलचक्करमा मधेसको मुद्दा

नेपालको संविधान ०७२ जारी हुनुअगावैदेखि सुरु भएको  नाकाबन्दीसहितको तेस्रो मधेस आन्दोलन बिना उपलब्धि नै टुंगिएको थियो। कहिले जित, कहिले हार र कहिले सम्झौतामा टुंगिदै आएको मधेस आन्दोलन अझै लक्ष्य भन्दा निकै टाढा देखिन्छ। लक्ष्य भेटाउन नसकेर आन्दोलनको गोलचक्करमा फसेको मधेसको मुद्दा भन्ने साँघुरिँदै गएको छ। आन्दोलनबाट देशमा संघीयता र मधेसीले पहिचानसहितको संघीयता प्राप्त गरेको छ। मधेस प्रदेश पाएको छ।  

मधेसी चेहरा मुखिया भएको मधेस सरकार पाएको छ। अधिकांश सरकारी अडामा मधेसी चेहरा प्रशासक पाएका छन्। मधेससहितका कल्सटरले आरक्षण पाएका छन्। अझै धेरै उपलब्धि समयक्रमले थपिदै जाने जानकारहरु बताउँछन्। 

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भन्छन्,‘मधेस आन्दोलनले धेरै उपलब्धिहरु प्राप्त भएका छन। धेरै प्राप्त गर्न बाँकी छ।’ राज्यको विभेदकारी व्यवहारका कारण मधेस सुगम भएपनि हरेक हिसावले पछाडि परेको छ।

शिक्षा, स्वास्थ्य, रोजगार, विकास, कृषि, जलस्रोत लगायतका क्षेत्रमा राज्यको विभेदकारी नीति र व्यवहारले मधेस पछाडि परेको उनको भनाइ छ । अब मधेसलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने अभियानमा सबैको हातेमालो हुनुपर्नेमा उनको जोड छ। अब मधेसी जनताको ‘समृद्ध मधेस’ को सपनालाई पूरा गर्ने बाटोमा अघि बढ्नुपर्ने उनको भनाइ  छ।

ज्यूँका त्यूँ समस्या

बलिदानीपूण मधेस आन्दोलनको डेढ दशक वितिसक्दा राजनीतिक रुपमा मधेसमा धेरै परिवर्तण भैसक्यो। तर सामाजिक सवालहरु अझै सम्बोधनको पर्खाइमा छ। गरिबी, निरक्षरता, बेरोजगारी, युवाहरूको ठूलो जमात विदेश पलायन, महिलामाथि हिंसा, छुवाछूतजस्तो जघन्य अपराध, दहेजप्रथालगायतको बेथितिबाट मधेस र मधेसी अझै गाँजेकै अवस्था छ। शिक्षा, स्वास्थ्य र विकास–निर्माणलगायतका क्षेत्रमा खासै सुधार हुन सकेको छैन। मधेसी चेहरा मुखिया भएको प्रदेश चार वर्ष वित्दापनि अनेकौ बेथितिको सिकार छन्।  

चौतर्फी समस्या र पीडामा रहेको गुनासो उनीहरूबाट सुनिन्छ, उपचार कतैबाट नपाएको अवस्था छ। प्रत्येक वर्ष माघ ५ गते लाहान पुगेर छोरा रमेशको प्रतिमामा माल्यार्पण गरी आँसुको भारी बिसाएर मन हल्का पार्दै आएकी छिन, रानोदेवी महतो। छोरा सम्झेर रानोदेवीले भनिन्, ‘अरुको त आर्थिक अवस्था राम्रो भयो, हाम्रो उस्तै छ, छोरो भएको भए पैसा कमाउने थियो, हाम्रो पनि राम्रो हुन्थ्यो होला। म जस्तै धेरै छोराका आमाहरु यसरी नै बेदनासहित रोइरहेका छौं, आँसु पुछ्ने कोही भएन।’

प्रकाशित: ५ माघ २०७९ ०८:०८ बिहीबार

मधेस